काभ्रेपलाञ्चोक जिल्लाको चौरिदेउराली गाउँपालिकाको सभाहलमा २० गते नागरिक तथा सुरक्षा निकायबीच समन्वय, सहकार्य तथा शान्ति सुरक्षा सम्बन्धी जनगुनासा, सुझाव र जिज्ञासाको सुनुवाइ गर्ने उद्देश्यले “नागरिक सुनुवाइ कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा चौरिदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्की लगायत स्थानिय
र पालिका वडा निकायका प्रतिनिधिहरू र विभिन्न राजनितिक दलका व्यक्तिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वडा अध्यक्षहरू, वडा सचिवहरू, स्थानीय तहका राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका शिक्षकहरू, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न समस्याहरू राखेका थिए।

विशेषगरी नागरिकता तथा परिचयपत्र बनाउन अत्यधिक झन्झट र ढिलासुस्ती हुने गरेको गुनासो नागरिकहरूले गरेका थिए। त्यस्तै अपाङ्गता भत्ता वितरणमा अनियमितता रहेको, वास्तविक अपाङ्गता भएका व्यक्तिले परिचयपत्र नपाएको तथा कार्ड प्राप्त गरेका कतिपय व्यक्तिले समेत आफूहरूको अवस्थाअनुसार सेवा सुविधा नपाएको गुनासो सुनाइएको थियो।
विद्यालय आसपासका पसलहरूमा सुर्तीजन्य पदार्थको खुलेआम बिक्री वितरण भइरहेको विषय पनि चर्को रूपमा उठाइएको थियो। स्थानीयहरूले यसले विद्यार्थीहरूमा नकारात्मक असर पारिरहेको भन्दै नियन्त्रणका लागि कडा कदम चाल्न माग साथै
वडा कार्यालयमा जनप्रतिनिधिको नियमित उपस्थिति नहुने लगायतका गुनासा राखेका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले बालविवाहका कारण गाउँघरमा धेरै बालबालिकाको जन्मदर्ता तथा नागरिकता बनाउने प्रक्रियामा जटिलता उत्पन्न भएको बताउनुभयो। उहाँले यस्ता समस्याको समाधानका लागि गाउँपालिका गम्भीरतापूर्वक लागिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा वडा नम्बर २ का निवासी विशाल मगरले आफ्नो पीडा सुनाउँदै लामो समयदेखि बुबा सम्पर्कविहीन भएका कारण जन्मदर्ता र नागरिकता बनाउन नसकेको तथा त्यसकै कारण आफ्नो पढाइसमेत प्रभावित भएको गुनासो गर्नुभएको थियो। उक्त विषयमा प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नागरिकता दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी चौरिदेउराली क्षेत्रमा ट्राफिक प्रहरीको अभावका कारण विभिन्न समस्या भोग्नुपरेको गुनासो उठेपछि सम्बन्धित निकायले निकट भविष्यमा कम्तीमा एक ट्राफिक प्रहरी खटाउने पहल गरिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा उठाइएका सबै समस्या र गुनासाहरूमा सम्बन्धित निकायका प्रमुखहरूले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कानुनी तथा प्रशासनिक रूपमा समाधान गर्न सकिने विषयहरूमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नागरिक र सरकारी निकायबीच प्रत्यक्ष संवादको माध्यम बनेको उक्त कार्यक्रमले स्थानीय समस्याहरू उजागर गर्नुका साथै समाधानका लागि साझा प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।









