शुक्रबार , असार २०, २०८२
रेखा जोशीको बजारमा चर्चा “मलाई एउटा सिपारिस बनाई दे मेयर साब” तीज गीतले लग्यो बजारमा तहल्का – Yuwa Daily

काठमाडौं-कसैले पत्याउन्नन् लभ परेको हैन भनेर

मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाब
यसको ब्वाइफ्रेन्ड छैन भनेर…

हिजोआज टिकटकमा अविवाहित युवतीले यो गीतमा आफूलाई प्रस्तुत गर्ने होडबाजी चलेको छ। सार्वजनिक भएदेखि नै चर्चामा रहेको गीत युट्युबको ११ नम्बर ट्रेन्डिङमा छ। ‘मेरा लागि मर्ने केटो’ नामक यस गीतकी गायिका हुन् रेखा जोशी। भगिरथ चलाउनेले पुरुष स्वर भरेको गीतको सिर्जना पनि उनले नै गरेका हुन्।

देउडा गीतका क्षेत्रमा रेखा नयाँ नाम होइन। देउडा गीतमा चलेका गायिकाहरुको पहिलो नम्बरमै उनी छिन्। तर यो गीतले उनको सांगीतिक आकाश थप फराकिलो बनाएको छ। आम लोकगीत पारखीमाझ पनि रेखा फैलिएकी छिन्।

गीतले बजार लिइरहेको समयमा भेटिएकी गायिका रेखाले सुरुमै ठट्टा गरिन्, ‘यो गीत मेरै लागि लेखिएको जस्तो लागिरहेको छ। तर अरुले पनि आफ्नो जीवनसँग मिल्ने भन्दै रमाइलो गरिरहेका छन्!’

कोकिलकन्ठी स्वर र सुन्दर रुपरङकी गायिका रेखाको ‘ब्वाइफ्रेन्ड’ भएको/नभएको कुरा उनकै निजी मामिला भयो। त्यसैले सोधिएन। सोधिहेर्‍यो भने पनि सेलिब्रिटीबाट सही उत्तर आउने सम्भवना कम रहन्छ।

गायिका जोशीको स्वरमा अघिल्लो हप्ता मात्रै देउडा गीत ‘लाउँकि मायाजाल’ बजारमा आएको थियो। त्यसअघि ‘झुलुक्क झुल्किजापन’ आएको थियो। दुवै गीत देउडाप्रेमीले रुचाए। उनका अनेक भाका छन्, जो संगीतप्रेमीलाई जँचेका छन्।

२०७१ सालदेखि निरन्तर गायन क्षेत्रमा रहेकी उनलाई यही क्षेत्रले नाम र दाम दिइरहेको छ। छुट्टै पहिचान बनाएको छ। गायन रुचि भए पनि यही क्षेत्रमा करिअर बनाउने कुरामा उनी सुरुमा त्यति सकारात्मक थिइनन्। उनलाई बन्नु थियो- बैंकर। प्लस टु सकाएर ब्याचलर भर्ना भएकी रेखाले फुर्सदको समयमा कञ्चनपुरको एक रेडियोमा बिताउन थालिन्।

उनी रेडियोमा कार्यक्रम चलाउने र समाचार पढ्ने काम गर्थिन्। त्‍यहीँ एक दिन घटेको घटनाले उनको जीवनले अर्कै मोड लिएर उनी यो घुम्तीमा आइपुगेकी हुन्।

देउडा गायक गोपाल दयाल एक दिन उनी काम गर्ने रेडियोको स्टुडियोमा आइपुगे। उनीसँगै पढेकी दीपिका नामकी अर्की युवती थिइन्। उनी पनि राम्रो गीत गाउँथिन्।

‘मैले एउटा गीत लेखेको थिएँ। एक जना तपाईंसँगै पढ्ने विद्यार्थी छिन्, उनको स्वर सुनेको थिएँ। उनलाई गाउन दिने होला कि?,’ गोपालको भने। रेडियोमै रहेका रेखाका सहकर्मी, जसलाई उनी दाइ भन्थिन्। उनले रेखातर्फ संकेत गर्दै गोपाललाई भने, ‘हाम्री बहिनी नि राम्रो गीत गाउँछिन्।’

उनले स्वर सुन्ने इच्छा राखे। स्कुल र कलेजमा गीत गाइसकेकी उनले त्यहीँ एक टुक्का गीत सुनाइदिइन्। गोपाललाई उनको स्वर मन पर्‍यो। त्यसपछि २०७१ साल वैशाख १३ गते उनको पहिलो गीत रेकर्ड भयो, ‘घुटुक्क बाडुली लाया’।

उक्त गीतले राम्रै चर्चा पायो। त्यसपछि धेरैले उनलाई गीत-संगीतमै लाग्न सुझाए। देउडा गीतका लागि उपयुक्त स्वर रहेको बताउन थाले। त्यही सुझाव र प्रेरणाले उनी आफूलाई यही क्षेत्रमा सक्रिय बनाउन थालिन्। त्‍यसपछि उच्च शिक्षाका साथै गायनमा भविष्य खोज्न काठमाडौं आइपुगिन्। गएको ९ वर्षमा उनको स्वरमा एक हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन्।

उनले देउडा गीतका सबै विधामा स्वर भरेकी छिन्। सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा देउडामार्फत हुने सवाल जवाफ हुने, एकान्तमा बसेर विरह पोख्ने ठाडी भाका वा छमछम नाच्ने सबै गीतमा उनले आफूलाई प्रमाणित गरेकी छिन्।

रेखाले स्वर भरेका थुप्रै गीत चर्चित छन्। जसमध्ये ‘घुटुक्क बाडुली लाया’, ‘मैना-१’, मैना-२’, ‘साँचो साइका हात’, ‘रुबसकी खानी’, ‘डोटीका बैकान’, ‘लैलै’ लगायतका गीतले उनको चर्चा चुलियो।

उनलाई देउडा क्षेत्रमा आउँदै गर्दा उनलाई परिवारको राम्रो सहयोग रह्यो, जसले उनलाई यो क्षेत्रमा रम्न र जम्न सहज भयो।

गायनसँगै रेखाले पढाइलाई समेत निरन्तरता दिँदै आएकी छिन्। आफ्नो ब्याचमा उनी कहिल्यै दोस्रो भइनन्। व्यवस्थापन पढेकी उनले मास्टर्स गरेकी छिन्। उनलाई बैंकको कर्मचारी बन्ने ठूलो रहर थियो, त्यसैले व्यवस्थापन रोजेकी हुन्। तर देउडामा करिअर बन्न थालेपछि त्यतातिर लागेकी छैनन्।
उनीसँगै पढेका थुप्रै साथीहरु बैंकमा छन्। देउडामा पहिचान नबनेको अवस्था थियो भने आफू पनि त्यहीँ हुने उनी बताउँछिन्।

रेखा रमाइलोका लागि मात्रै गाउँदिनन्। चेतनाका लागि पनि आफूलाई अग्रभागमा उभ्याइरहेकी छिन्। सुदूर तथा कर्णालीमा व्याप्त छाउपडी प्रथाका विरुद्ध उनले थुप्रै गीत गाएकी छिन्। थुप्रै ठाउँ पुगेर जनचेतना फैलाएकी छिन्।

खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले उनलाई सद्भावना दूत नै बनाएको छ। मर्यादित महिनावारी दूतको रुपमा नियुक्त रेखाले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धी कुसंस्कार र अन्धविश्वासका विरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने र महिनावारीलाई मर्यादित बनाउन अभियान चलाउने काम यही परियोजनामार्फत गरिरहेकी हुन्।

 

बाकी पूरा भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP