
स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले “सँगै सधैंका लागि” संस्थाद्वारा आयोजना गरिएको मकैको खोस्टाबाट फूल तथा बुके बनाउने ५ दिने तालिम असार २२ गते सम्पन्न भएको छ।




अध्यक्ष सुशिला गुरागाईका अनुसार, यो तालिम वडा नं। ३ की स्थानीय महिलालाई लक्षित गर्दै मकैको खेर गएका खोस्टाको पुनः प्रयोगमार्फत स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको थियो।
“फोहोर ठानिएका सामग्रीबाट पनि आकर्षक सजावटका सामान बनाएर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणा दिन यो तालिम सहायक भएको छ।”
तालिममा सहभागी महिलाहरूले मकैको खोस्टाबाट विविध किसिमका आकर्षक फूल र बुके बनाउने सीप सिकेका छन्। उनीहरूले सिकेको सीपलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजना पनि बनाएको हामीलाई बताएका छन्। केही महिलाहरूले आगामी दिनमा आफैंले उत्पादन तथा बिक्री सुरु गर्ने अठोट समेत व्यक्त गरेका छन्।
वडा अध्यक्ष आचार्यले सीप सिकेका महिलाहरूलाई वडाबाटै रोजगारी सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “यस्ता सीपमूलक तालिमहरूले महिलाहरूको आत्मनिर्भरता बढाउनुका साथै समग्र समाजमा सकारात्मक सन्देश दिएको बताएका छन् ।” उहाँले यस्ता कार्यक्रम भविष्यमा वडा मात्र नभई सम्पूर्ण नगरभरि विस्तार गर्ने योजना रहेको समेत जानकारी दिएका छन् ।
तालिमका सहभागीहरूले आगामी दिनमा अझ उन्नत तथा व्यवसायिक तालिमहरू लिन सकिने अपेक्षा व्यक्त गरेका छन्।
“सँगै सधैंका लागि” संस्थाले विगतदेखि उद्घोषण तथा भाषण कला तालिम, राहत वितरण, सामाजिक जागरणजस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ।