मंगलबार , भाद्र १६, २०८३
मेसीको पुनरागमनले बदल्यो इतिहास – Yuwa Daily

अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता तथा सर्वाधिक खेल खेल्ने खेलाडी मेसीले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त्य गर्दै भनेका छन्, ‘मैले आफ्नो सबै दिएँ, अब मसँग दिनलाई केही बाँकी छैन।’

मेसीले अर्जेन्टिनालाई सन् २०२२ को कतार विश्वकप जिताउनुका साथै सन् २०२१ र २०२४ को कोपा अमेरिका उपाधि दिलाएका थिए। तर, अर्जेन्टिनासँग उनको सफलताको यो अध्याय सुरु हुनुअघि नै उनको अन्तर्राष्ट्रिय करियर लगभग टुंगिएको थियो।

सन् २०१६ जुन २६ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा चिलीविरुद्ध कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।

त्यतिबेला उनी २९ वर्षका मात्रै थिए। फाइनलमा पेनाल्टी मिस गरेपछि मेसीले भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीको यात्रा सकिएको छ। मैले सक्ने सबै गरेँ। च्याम्पियन बन्न नसक्दा निकै दुःखी छु।’

अर्जेन्टिना लगातार चौथो ठूलो प्रतियोगिताको फाइनलमा पराजित भएको थियो। सन् २०१४ को विश्वकप फाइनल तथा २००७, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पराजय भोगेपछि मेसीमाथि अर्जेन्टिनामा तीव्र आलोचना भइरहेको थियो।

उनलाई ‘ठूला खेलमा हराउने खेलाडी’ तथा ‘म्याराडोनाजस्तो व्यक्तित्व नभएको’ लगायतका आरोप लाग्ने गरेका थिए। अर्जेन्टिनामा उनलाई ‘पेसो फ्रियो’ अर्थात् ‘चिसो छाती’ भनेर समेत आलोचना गरिन्थ्यो।

तर, मेसीको सन्यास घोषणाले अर्जेन्टिनामा ठूलो तरंग ल्यायो। उनका सहकर्मीहरूले तत्काल निर्णय फिर्ता लिन आग्रह गरे। गोलकिपर सर्जियो रोमेरोले भनेका थिए, ‘मेसीबिनाको राष्ट्रिय टोली म कल्पना गर्न सक्दिनँ।’

मेसीलाई राष्ट्रिय टोलीमा फर्काउन सामाजिक सञ्जालमा अभियान नै चल्यो। २४ घण्टामै उक्त ह्यासट्याग २० हजारभन्दा बढी पटक प्रयोग भयो।

तत्कालीन अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले समेत मेसीसँग फोनमा कुराकानी गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए। त्यसको केही समयपछि ब्युनस आयर्सका मेयर होरासियो रोड्रिगेज लारेटाले मेसीको सम्मानमा प्रतिमा अनावरण गर्दै उनलाई राष्ट्रिय टोलीमा फर्किन सार्वजनिक अपिल गरे।

हजारौँ समर्थक सडकमा उत्रिए। राजधानीका सडक संकेतहरूमा समेत मेसीलाई राष्ट्रिय टोलीमा रहन आग्रह गरियो।

अर्जेन्टिनाका तत्कालीन प्रशिक्षक एडगार्डो बाउजाले पनि पद सम्हालेपछि सबैभन्दा पहिले बार्सिलोना पुगेर मेसीलाई राष्ट्रिय टोलीमा फर्किन मनाए।

अन्ततः मेसीले आफ्नो निर्णय परिवर्तन गरे।

‘म यो देश र यो जर्सीलाई धेरै माया गर्छु,’ राष्ट्रिय टोलीमा फर्किँदै मेसीले भनेका थिए, ‘मलाई निरन्तर खेलिरहन आग्रह गर्ने सबैप्रति आभारी छु। आशा छ, हामी चाँडै उनीहरूलाई खुसी हुने अवसर दिनेछौँ।’

त्यसपछि सुरु भयो मेसीको करियरकै सबैभन्दा अविश्वसनीय अध्याय।

जुन खेलाडीलाई एक समय राष्ट्रिय टोलीका लागि ‘अभागी’ र ‘ठूला खेलमा असफल’ भनेर आलोचना गरिएको थियो, त्यही मेसीले त्यसपछिका वर्षमा अर्जेन्टिनालाई लगातार ऐतिहासिक सफलता दिलाए।

सन् २०२१ मा कोपा अमेरिका जित्दै उनले अर्जेन्टिनासँग पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते। त्यसपछि सन् २०२२ मा कतार विश्वकपको उपाधि जिताउँदै उनले आफ्नो करियरको सबैभन्दा ठूलो सपना पूरा गरे। सन् २०२४ मा अर्को कोपा अमेरिका उपाधि जित्दै उनले अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय फुटबलको शीर्ष स्थानमा कायम राखे।

एक समय पेनाल्टी मिस गरेको कारण आलोचनाको केन्द्र बनेका मेसी अन्ततः अर्जेन्टिनाका लागि सबैभन्दा ठूलो सफलताको प्रतीक बने।

म्याराडोनासँग तुलना गरिएका मेसीले अन्ततः आफ्नो पुस्ताको मात्र होइन, फुटबल इतिहासकै महान् खेलाडीमध्ये एकका रूपमा आफूलाई स्थापित गरे।

२०१६ मा आँसुका साथ घोषणा गरेको सन्यासबाट फर्किएर उनले जुन यात्रा पूरा गरे, त्यो केवल एउटा फुटबलरको पुनरागमनको कथा थिएन। त्यो असफलतापछि पनि निरन्तर प्रयास गर्ने, आलोचनालाई जवाफमा बदल्ने र अन्ततः आफ्नो देशलाई विश्व च्याम्पियन बनाउने एउटा असाधारण यात्राको कथा थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP