बुधबार , असार ३१, २०८३
रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश – Yuwa Daily

 

रामेछाप । सुनापती गाउँपालिका–१ गुन्सीस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, प्रशासनिक बेथिति तथा गाउँपालिकाको ढिलासुस्तीविरुद्ध स्थानीय अभिभावक र सरोकारवालाले गम्भीर प्रश्न उठाएका छन्।

विद्यालय व्यवस्थापन समितिले २०८३ जेठ २२ गते अस्थायी शिक्षक प्रधानाध्यापक रहेकाले स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णय जेठ २६ गते गाउँपालिकामा बुझाइए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै स्थानीयले गाउँपालिकाको भूमिकामाथि प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार विद्यालयको आन्तरिक कोषबाट २०७९ असार ९ गते निर्माण प्रयोजनका नाममा रु. ८ लाख २५ हजार ५७२ र थप रु. ३ लाख ८७ हजार ५२० तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्षको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको देखिए पनि सो समयमा कुनै निर्माण कार्य नभएको दाबी गरिएको छ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेश सरकार र सुनापती गाउँपालिकाबाट प्राप्त रु. ३७ लाख ५० हजार भवन निर्माण बजेटको खर्च विवरणसमेत सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक नगरिएको आरोप छ। अभिभावकहरूले पटक–पटक खर्च विवरण माग गर्दा बेवास्ता गरिएको र लेखापरीक्षणसमेत विवादित रूपमा सम्पन्न गरिएको उनीहरूको भनाइ छ।

स्थानीयले विगत केही वर्षदेखि विद्यालयको नियमित लेखापरीक्षणसमेत प्रभावकारी रूपमा नभएको, सामाजिक लेखापरीक्षणका क्रममा अभिभावकलाई वास्तविक विवरण नबुझाई हस्ताक्षर मात्र गराइएको आरोप लगाएका छन्।

दलित, सीमान्तकृत तथा जनजाति समुदायका विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा लामो समयदेखि विवाद भइरहँदा पनि गाउँपालिका मौन बसेको भन्दै अभिभावकहरूले निष्पक्ष छानबिन, आर्थिक पारदर्शिता र विद्यालय व्यवस्थापन समितिको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

यद्यपि, यी आरोपबारे सम्बन्धित प्रधानाध्यापक, तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सुनापती गाउँपालिकाको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP