रोजगारी र राम्रो भविष्यको खोजीमा विदेश जाने नेपाली युवाको संख्या दिनप्रतिदिन बढ्दो छ। धेरैले विदेशमै स्थायी बसोबासको बाटो रोजिरहेका छन्। तर, यही भीडका बीच काभ्रेको चौरिदेउराली गाउँपालिकाका श्रीमान तामाङ ले भने फरक बाटो रोजेका छन्। उनले विदेशमा कमाएको अनुभव, सीप र पूँजी आफ्नै गाउँमा लगानी गर्दै स्वदेशमै सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
२०७० सालमा रोजगारीका लागि जापान पुगेका तामाङले त्यहाँ साढे आठ वर्ष बिताए। जापानमा बस्दा उनले आधुनिक कार्यसंस्कृति, अनुशासन र उद्यमशीलताको अनुभव मात्रै बटुलेनन्, आफ्नै गाउँ र देशका लागि केही गर्ने सपना पनि सँगालेर बसे।




कोरोना महामारीले नेपाल संकटमा परेका बेला उनी हजारौं किलोमिटर टाढा भए पनि गाउँको पीडामा मौन बसेनन्। आफ्नै गाउँपालिकाका लागि अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्रीसहित करिब ७ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराए। खाद्यान्न राहत वितरणदेखि क्यान्सर पीडितलाई सहयोग, अस्पतालमा उपचार खर्च तिर्न नसकी समस्यामा परेका बिरामीलाई उद्धार गर्नेसम्मका सामाजिक कार्यमा उनले निरन्तर साथ दिए।

२०७८ साल चैत ९ गते स्वदेश फर्किएपछि उनले विदेशको कमाइलाई बैंकमा थन्क्याउने होइन, आफ्नै गाउँमा लगानी गर्ने निर्णय गरे। त्यसपछि जिम्वा कृषि तथा पशुपन्छी फार्म स्थापना गरी व्यावसायिक कृषि सुरु गरे।
हाल फार्ममा बंगुरपालनसँगै अकबरे खुर्सानी, एभोकाडो, बुद्धचित माला, म्याकाडामिया नट तथा जापानी हलुवाबेदको खेती भइरहेको छ। अहिले करिब २५०–३०० वटा एभोकाडोका बिरुवा हुर्किरहेका छन्। उत्पादनमुखी कृषिलाई थप विस्तार गर्दै हालै काठमाण्डौको बाउन धारामा जिम्वा सेकुवा एन्ड ग्रिल हाउस सञ्चालनमा ल्याएका छन्। उनको उद्देश्य भनेको व्यवसाय गर्नु मात्र होइन, स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै रोजगारीका अवसर सिर्जना गर्नु पनि हो।
श्रीमान तामाङ सामाजिक सेवामा मात्रै होइन, राजनीतिक रूपमा पनि सक्रिय छन्। लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका उनले पुराना दलबाट जनताले अपेक्षा गरेको परिवर्तन र सेवा प्रवाह हुन नसकेको निष्कर्षपछि चार वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने निर्णय गरे। चौरिदेउराली गाउँपालिका काठमाडौं सम्पर्क समितिको सभापति भएर काम गरिसकेका उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी चौरिदेउराली गाउँपालिकाको सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्।
![]()
आज धेरै युवाले नेपालमा अवसर नभएको भन्दै विदेशिने निर्णय गरिरहेका छन्। तर श्रीमान तामाङको यात्राले भने फरक सन्देश बोकेको छ। विदेश जानु गलत होइन, तर विदेशबाट सिकेको ज्ञान, सीप र पूँजी आफ्नै देशमा लगानी गर्न सकियो भने त्यसले व्यक्तिगत जीवन मात्र होइन, समाज र देशको भविष्य पनि बदल्न सक्छ।
गाउँमै बसेर कृषि, व्यवसाय, समाजसेवा र नेतृत्वलाई सँगै अघि बढाइरहेका श्रीमान तामाङको यात्रा अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। स्वदेशमै केही गर्न चाहने युवालाई उनको सन्देश स्पष्ट छ—अवसर खोज्दै विदेशिनुभन्दा, अवसर सिर्जना गर्दै आफ्नै माटोमा भविष्य निर्माण गर्न सकिन्छ।त्यसैले विदेशमा भविष्य होइन, स्वदेशमै सम्भावना देखे श्रीमान तामाङले ।




