आइतबार , कार्तिक २, २०८३
दक्षिण कोरियामा नेपाली श्रमिकको आकर्षण बढ्दो, ईपीएसमार्फत १ लाख २५ हजारभन्दा बढी पुगे – Yuwa Daily

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत जाने नेपाली श्रमिकको संख्या १ लाख २५ हजार नाघेको छ। पछिल्ला वर्षहरूमा दक्षिण कोरियाले नेपालबाट ठूलो संख्यामा श्रमिक लैजान थालेपछि नेपाल प्रमुख श्रमिक स्रोत मुलुक बनेको हो।

ईपीएस सेन्टरका प्रतिनिधि किम जुङ सामका अनुसार सन् २०२२, २०२३ र २०२५ मा कोरियाले नेपालबाट सबैभन्दा धेरै श्रमिक भित्र्याएको छ। उनका अनुसार कोरियाले ईपीएस प्रणालीमार्फत नेपालसहित १७ देशबाट विदेशी श्रमिक लैजाने गरेको छ।

कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) का अनुसार सन् २०२२ मा ईपीएस प्रणालीमार्फत कुल १ लाख १ हजार ५१३ विदेशी श्रमिक कोरिया पुगेका थिए। त्यसमध्ये नेपालबाट मात्र १४ हजार ४५ जना पुगेका थिए। सो वर्ष नेपाल सबैभन्दा धेरै श्रमिक पठाउने देश बनेको थियो।

सन् २०२३ मा कुल १ लाख १८ हजार ७२८ विदेशी श्रमिक कोरिया प्रवेश गरेका थिए, जसमा नेपालबाट ११ हजार ७३८ जना पुगेका थिए। सन् २०२४ मा भने नेपालबाट जाने श्रमिकको संख्या घटेर करिब ८ हजार ३०२ पुगेको थियो।

आर्थिक मन्दीका कारण कोरियाका निजी क्षेत्रमा कामदारको माग घट्दा केही वर्ष नेपालबाट जाने श्रमिकको संख्या प्रभावित भएको बताइएको छ। तर सन् २०२५ मा नेपाल पुनः सबैभन्दा धेरै श्रमिक पठाउने मुलुक बनेको छ। उक्त वर्ष ७२ हजार ७३४ श्रमिक कोरिया पुगेका थिए, जसमा नेपालबाट ११ हजार २४ जना पुगेका थिए।

ईपीएस शाखा ग्वार्कोका निर्देशक अनु ढकालका अनुसार कोरियामा नेपाली श्रमिकप्रतिको आकर्षण बढिरहेको छ। कोरियामा आम्दानी राम्रो हुने भएकाले युवाहरूको रुचि बढेको उनको भनाइ छ।

हाल कोरियामा ईपीएसमार्फत गएका श्रमिकको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार ३२० वन रहेको छ। आगामी २७ जनवरीदेखि न्यूनतम पारिश्रमिक बढेर प्रतिघण्टा १० हजार ७९० वन पुग्ने ईपीएस सेन्टरका प्रतिनिधि किमले जानकारी दिएका छन्।

उनका अनुसार कोरियाली र विदेशी श्रमिकका लागि समान श्रम कानुन लागू हुने भएकाले सबैले समान पारिश्रमिक पाउने व्यवस्था छ।

नेपालमा ईपीएस परीक्षामा कडाइ भए पनि ठूलो संख्यामा युवाहरू उत्तीर्ण हुने गरेका छन्। ढकालका अनुसार नेपालमा कटअफ अंक ७५ प्रतिशत राखिए पनि उत्तीर्ण हुनेको संख्या धेरै छ। अन्य देशमा भने कटअफ ६० प्रतिशत आसपास हुने गरेको उनले बताए।

नेपालले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत उत्पादनमूलक र कृषि क्षेत्रमा श्रमिक पठाउन थालेको हो। अहिले पानीजहाज निर्माणलगायत विभिन्न क्षेत्रमा पनि नेपाली श्रमिक कार्यरत छन्।

तर कोरियामा अवसरसँगै चुनौती पनि रहेका छन्। केही श्रमिक रोजगारदाताको दबाब, अत्यधिक कामको बोझ र कार्यस्थल दुर्घटनाका कारण शारीरिक तथा मानसिक समस्यामा पर्ने गरेका छन्। आत्महत्याका घटनासमेत देखिने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP