राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफलका लागि बैठक आह्वान गरेको छ। आज दिउँसो २ बजे बैठक बस्दै छ ।
भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीपहिरो लगत्तै बसेको सर्वदलीय बैठकबाट विपद्को दिगो समाधान र पूर्वतयारीको सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो । सोही साझा सङ्कल्प अन्तर्गत विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यबारे छलफलका लागि बैठक आह्वान गरिएको हो ।



अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्न बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति भइसकेको छ । यही क्रममा थप छलफल छलफल गर्न सिंहदरबारस्थित संसदीय दलका कार्यालयमा बैठक बोलाएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।




