विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या तीव्र रूपमा बढ्ने चेतावनी दिएको छ। संगठनका अनुसार हाल वार्षिक करिब २ करोड ६० लाख नयाँ क्यान्सरका बिरामी देखिने गरेकामा सन् २०५० सम्म यो संख्या बढेर करिब ३ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ। अर्थात् आगामी वर्षहरूमा क्यान्सरका नयाँ बिरामीको संख्या करिब ७० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
डब्लुएचओका अनुसार क्यान्सरको बढ्दो बोझ नियन्त्रण गर्न वैज्ञानिक अनुसन्धान र नयाँ उपचारको विकास मात्र पर्याप्त हुँदैन। विश्वभर स्वास्थ्य सेवामा रहेको असमानता हटाउन नसकिए लाखौँ मानिसले रोकथाम गर्न सकिने क्यान्सरकै कारण ज्यान गुमाइरहने चेतावनी पनि दिइएको छ।



किन बढिरहेका छन् क्यान्सरका बिरामी ?
डब्लुएचओको प्रतिवेदनअनुसार क्यान्सरका बिरामी बढ्नुको मुख्य कारण मानिसमा अचानक जोखिम बढ्नु होइन, विश्वको जनसंख्या वृद्धि र औसत आयु लम्बिनु हो। उमेर बढ्दै जाँदा क्यान्सर हुने सम्भावना पनि बढ्ने भएकाले वृद्ध जनसंख्या बढेसँगै क्यान्सरका बिरामीको संख्या पनि बढिरहेको छ।
यद्यपि, प्रतिवेदनले रोकथाम गर्न सकिने जोखिमका कारणहरू पनि क्यान्सर फैलिनुको प्रमुख कारण भएको उल्लेख गरेको छ। डब्लुएचओका अनुसार १० मध्ये करिब ४ वटा क्यान्सर धूम्रपान, मदिरा सेवन, शारीरिक निष्क्रियता, मोटोपना तथा ह्युमन प्यापिलोमाभाइरस ९एचपीभी० जस्ता दीर्घकालीन संक्रमणसँग सम्बन्धित छन्।
विशेषज्ञहरूका अनुसार मोटोपनाले स्तन, अग्न्याशय, कलेजो, मिर्गौला लगायत कम्तीमा एक दर्जनभन्दा बढी प्रकारका क्यान्सरको जोखिम बढाउँछ।
उपचारमा पहुँचको असमानता
डब्लुएचओका अनुसार क्यान्सर नियन्त्रणको सबैभन्दा ठूलो चुनौती नयाँ औषधि वा अनुसन्धानको अभाव होइन, उपचार र स्वास्थ्य सेवामा समान पहुँच नहुनु हो।
उच्च आय भएका देशहरूमा स्तन क्यान्सर भएका करिब ८७ प्रतिशत महिला कम्तीमा पाँच वर्षसम्म बाँच्ने सम्भावना हुन्छ। तर न्यून आय भएका देशहरूमा यो दर ४२ प्रतिशत मात्र रहेको छ।
हाल विश्वका तीनमध्ये एकभन्दा कम देशले मात्र आफ्नो सार्वभौमिक स्वास्थ्य सेवा कार्यक्रममा क्यान्सरको सम्पूर्ण उपचार समावेश गरेका छन्। न्यून आय भएका धेरै देशमा उपचार सुविधा सीमित भएकाले कतिपय स्थानमा ९० प्रतिशतसम्म बिरामीले उपचार नै गराउन सक्दैनन्। यसको मुख्य कारण उपचारको उच्च खर्च रहेको डब्लुएचओले जनाएको छ।
स्वास्थ्य सेवामा असमानता कायम रहे पनि पछिल्ला वर्षहरूमा क्यान्सर नियन्त्रणमा केही महत्त्वपूर्ण प्रगति भएको डब्लुएचओले उल्लेख गरेको छ। सन् २०१० यता विश्वभर धूम्रपान गर्नेको संख्या २७ प्रतिशतले घटेको छ, जसले धूम्रपानसँग सम्बन्धित क्यान्सरका बिरामी घटाउन मद्दत पुगेको छ।
त्यसैगरी, विश्वका करिब ८५ प्रतिशत देशले आफ्नो राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोप समावेश गरिसकेका छन्। यसको प्रभावस्वरूप युरोप र अमेरिकाका केही क्षेत्रमा युवतीहरूमा हुने पाठेघरको मुखको क्यान्सर लगभग समाप्त हुने अवस्थामा पुगेको बताइएको छ। स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने स्क्रिनिङ कार्यक्रम विस्तार हुँदा प्रारम्भिक चरणमै रोग पत्ता लगाउन सहज भएको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक र सामाजिक चुनौती
डब्लुएचओका अनुसार क्यान्सरको असर केवल बिरामीको स्वास्थ्यमा मात्र सीमित हुँदैन। यसले परिवार र समाजमा पनि गम्भीर आर्थिक तथा सामाजिक प्रभाव पार्छ।
प्रतिवेदनअनुसार ४५ प्रतिशत क्यान्सर बिरामीले उपचारका क्रममा आर्थिक कठिनाइ भोग्नुपर्छ। साथै, बिरामीको हेरचाह गर्ने परिवारका सदस्यहरूले सामाजिक एक्लोपन, मानसिक तनाव तथा आम्दानी गुमाउनुपर्ने अवस्था समेत सामना गर्नुपर्ने हुन्छ।




