मंगलबार , असार ३०, २०८३
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी – Yuwa Daily

काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति तथा आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो।

मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको जनाएको छ।

प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरेको छ। सोही समयसीमालाई ध्यानमा राख्दै उद्योगभित्र आवश्यक तयारी तीव्र रूपमा भइरहेको उल्लेख गरिएको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त बजेटबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्य सञ्चालन गर्न सहज भएको प्रतिवेदनमा उल्लेख छ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ। टोलीले उद्योग परिसरमा सरसफाइको काम तीव्र बनाएको, परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको तथा सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिनहरूको मर्मत कार्य सुरु गरिसकेको प्रतिवेदनमा जनाइएको छ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयसमक्ष ५० लाख रुपैयाँको लागत अनुमान पेस गरिएको छ। सोही लागत अनुमानका आधारमा मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ। प्रतिवेदनअनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ।

प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख गरिएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ। त्यसका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइने प्रतिवेदनमा औँल्याइएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले कार्यदलले दिएका सुझावका आधारमा निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

सत्कार होटेलकी सञ्चालक धना देवी चौखाल उपाध्यक्ष पदमा, व्यवसायीसँग मतको अपिल

धना देवी चोखाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित, निर्वाचन समितिसहित सबैप्रति आभार


TOP