छोराछोरीको जन्मदिनमा करन साउदले गरे ३५ विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण डडेल्धुरा। डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–१ निवासी युवा करन साउदले आफ्ना जुम्ल्याहा छोरा–छोरीको जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आफूले अध्ययन गरेको श्री बिर बल भद्र हायर सेकेन्डेरी स्कुलका ३५ जना विद्यार्थीलाई विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री वितरण गरेका छन्। जन्मदिनको अवसरमा हुने अनावश्यक खर्चलाई कटौती गर्दै उनले बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले यो कार्य गरेका हुन्। हाल भारतको कर्नाटक राज्यको बेङ्गलुरुमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका साउदले आफ्नो मेहनतको कमाइबाट समाजप्रति केही योगदान गर्ने सोचका साथ उक्त सहयोग गरेका हुन्। उनले जन्मदिनमा तडकभडक र फजुल खर्च गर्नुभन्दा बालबालिकाको पढाइमा सानो भए पनि सहयोग गर्नु नै बढी अर्थपूर्ण हुने विश्वासका साथ यो अभियान सुरु गरेको बताए। करन साउदका अनुसार आफू पनि यही विद्यालयमा अध्ययन गर्दा दैनिक करिब एक घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने अवस्था थियो। विद्यालय झोला नहुँदा किताब, कापी र कलम हातमै बोकेर विद्यालय जानुपरेको कठिन समय उनले भोगेका थिए। आफ्नै बाल्यकालको त्यो संघर्ष सम्झँदै अहिले पनि कतिपय विद्यार्थीले यस्तै समस्या भोगिरहेका हुन सक्छन् भन्ने भावनाले आफूलाई सहयोग गर्न प्रेरित गरेको उनले बताए। सानै उमेरमा बाख्रापालन व्यवसाय सुरु गरेका साउदले आर्थिक कठिनाइ र ऋणको सामना गर्नुपरेपछि रोजगारी तथा व्यवसायको खोजीमा भारत पुगेका थिए। हाल बेङ्गलुरुमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका उनी आफ्नो संघर्षलाई नबिर्सी जन्मथलो, विद्यालय र समाजप्रति योगदान गर्ने अभियानमा सक्रिय छन्। उनले आफूले भोगेको कठिनाइले नै आज समाजका बालबालिकाप्रति जिम्मेवारीबोध बढाएको बताए। साउद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्यसमेत हुन्। सामाजिक सेवासँगै समाज विकास र जनचासोका विषयमा पनि उनी सक्रिय रूपमा लागिरहेका छन्। स्थानीयस्तरमा शिक्षा, युवा सशक्तीकरण र सामाजिक उत्तरदायित्वका विषयमा उनी निरन्तर आवाज उठाउँदै आएको बताइन्छ। करन साउदसँग कुराकानी गर्ने क्रममा उनले आजका युवाले आफ्नो व्यक्तिगत सफलता मात्र नभई समाजप्रतिको जिम्मेवारी पनि पूरा गर्नुपर्ने धारणा व्यक्त गरे। “हरेक युवाले आफ्नो गाउँ, विद्यालय र समाजका लागि वर्षमा कम्तीमा एउटा राम्रो काम गर्ने बानी बसाल्नुपर्छ। सबैले आफ्नो ठाउँबाट सानो–सानो योगदान गर्ने हो भने समाज परिवर्तन हुन धेरै समय लाग्दैन,” उनले भने। करन साउदको यस सामाजिक कार्यप्रति स्थानीय अभिभावक, विद्यालय परिवार तथा स्थानीयवासीले प्रशंसा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा समेत उनको कार्यको सकारात्मक चर्चा भइरहेको छ। संघर्षबाट सफलता हासिल गरेपछि आफ्नो जन्मथलो र आफूलाई शिक्षा दिएको विद्यालयलाई नबिर्सी सहयोग गर्ने उनको अभियानले अन्य युवालाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास गरिएको छ।









