
रसुवामा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मजदुर, कर्मचारी तथा स्थानीयको उद्धारका लागि उद्धार टोलीले तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले शनिबार साँझसम्म सुरुङसम्म पुग्ने सम्भावना रहेको बताएका छन्।सुरुङभित्र फसेकाका परिवारसँग शनिबार मन्त्रालयमा भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि सबै सम्भव उपाय अपनाइरहेको जानकारी दिए।



“आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ,” उनले भने।
मन्त्री श्रेष्ठका अनुसार सुरुङभित्र फसेकाको खोज तथा उद्धारका लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टरसमेत परिचालन गरिएको छ। उद्धार टोलीले रातिको समयमा समेत कामलाई निरन्तरता दिइरहेको छ।“राति पनि काम रोकेका छैनौँ। राति रोक्यो भने आसै मर्छ,” मन्त्री श्रेष्ठले भने, “हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ, निरन्तरता दिन सकिने सबै काम गरिरहेका छौँ।”
खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबाट उच्च तहका विज्ञ तथा प्राविधिक अधिकारी परिचालन गरिएको उनले बताए। उनका अनुसार नुवाकोटमा प्राधिकरणको ट्याक्टिकल कार्यालय सक्रिय रूपमा परिचालन गरिएको छ भने वरिष्ठ व्यवस्थापनको टोली नुवाकोट र अर्को टोली रसुवामा खटिएको छ।
अक्सिजन पुर्याउने प्रयास
मन्त्री श्रेष्ठले सुरुङभित्र फसेकाहरूको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए। उद्धारअघि नै कुनै माध्यमबाट सुरुङभित्र अक्सिजन पुर्याउन सकिन्छ कि भनेर प्रयास भइरहेको उनको भनाइ छ।“उद्धार हुनुअघि कुनै माध्यमबाट अक्सिजन टनेलभित्र पुर्याउन प्रयासरत छौँ। उद्धार भएपछि अस्पतालमा पनि राख्न सकिन्छ। पहिला जीवित हुनुपर्छ,” उनले भने।
सुरुङभित्र फसेकाको अवस्थाबारे परिवारलाई नियमित आधिकारिक सूचना उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले जनाएका छन्।मन्त्रीसँगको भेटमा पीडित परिवारले सुरुङभित्र फसेकाहरू जीवित छन् वा छैनन् भन्ने अवस्था तत्काल जानकारी गराउन माग गरेका थिए। उनीहरूले सुरुङभित्र बाँच्न सक्ने वातावरण बनाउन, कम्तीमा अक्सिजनको व्यवस्था गर्न तथा उद्धारका लागि आवश्यक सबै उपकरण तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
रसुवामा आएको बाढीका कारण १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र पाँच सयभन्दा बढी मजदुर, कर्मचारी तथा स्थानीय फसेको बताइएको छ। उनीहरूको उद्धारका लागि सम्बन्धित निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।




