स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको छ।
मन्त्री मेहताका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयक अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको छ।



बदलिँदो जीवनशैली र व्यस्त कार्यजीवनका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला नवजात शिशु र आमालाई पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उहाँको धारणा छ।
प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा तथा बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था गरिएको छ।
मन्त्री मेहताले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई दुवै अभिभावकको साझा जिम्मेवारी भएको बताउनुभएको छ।
यस प्रस्तावलाई सुरक्षित मातृत्व, नवजात शिशुको हेरचाह तथा जिम्मेवार अभिभावकत्वलाई थप संस्थागत गर्ने उद्देश्यका रूपमा लिइएको छ।




