गत भदौ १० गते त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रत्यक्षदर्शी बनेका राजन महतारा क्षेत्री केही समयको अन्तरले मात्र उक्त जोखिमबाट जोगिएका थिए। ज्यान जोगिएपछि पनि उनले आफूले प्रत्यक्ष देखेको विपत्तिको पीडा बिर्सन सकेनन्। यही घटनापछि उनी अझ सक्रिय रूपमा सामाजिक सेवा, राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालनमा अग्रपंक्तिमा खटिँदै आएका छन्।




प्यूठानमा जन्मिएका राजन विगत लामो समयदेखि समाजसेवामा सक्रिय छन्। जन्मथलो प्यूठान भए पनि कर्मथलो काठमाडौँ बनाएका उनले विभिन्न सामाजिक संस्था तथा सहयोगी समूहसँग हातेमालो गर्दै उद्धार तथा राहत अभियानमा निरन्तर काम गरिरहेका छन्।
हालै रसुवालगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर उनी अति आवश्यक खाद्यान्न, पानी, भाँडाकुँडा तथा अन्य राहत सामग्री वितरणमा व्यस्त छन्। उद्धार कार्य र राहत अभियानसँगै प्रभावित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य शिविर सञ्चालनमा समेत उनको सक्रिय सहभागिता रहेको छ।

राजन भन्छन्, “परिवारको चिन्ता जति नै भए पनि मैले आफ्नै आँखाले देखेको त्यो पीडा र विपत्तिलाई बेवास्ता गर्न सकिनँ। सकेसम्म पीडितहरूको साथमा रहने र सहयोग गर्ने मेरो प्रयास निरन्तर रहनेछ।”

आफू जोखिमबाट सुरक्षित रहँदा पनि पीडितहरूको पीडालाई आफ्नै पीडा सम्झेर सामाजिक सेवामा निरन्तर खटिरहेका राजन महतारा क्षेत्री अहिले राहत, उद्धार र मानवीय सेवाको अभियानमा एक सक्रिय सामाजिक अभियन्ताका रूपमा अग्रपंक्तिमा देखिएका छन्।




