काभ्रेपलाञ्चोक । “खेलकुद हाम्रो शान, स्वस्थ युवा हाम्रो अभियान” तथा “एकता, सद्भाव र खेलकुदका लागि” भन्ने मूल नारासहित चौरीदेउराली गाउँपालिका–६ मा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै आपसी एकता, अनुशासन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले ‘नयाँ बस्ती खुल्ला भलिबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
नयाँ बस्ती युवा समिति (NBYC) को आयोजनामा हुने प्रतियोगिता असोज २८ गतेदेखि ३१ गतेसम्म चौरीदेउराली गाउँपालिका–६ स्थित नयाँ बस्ती खेल मैदानमा सञ्चालन हुनेभएकोछ। प्रतियोगिताका लागि असोज २७ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख रुपैयाँ कायम गरिएको छ। यसअघि ५० हजार रुपैयाँ रहेको प्रथम पुरस्कारमा ५० हजार रुपैयाँ वृद्धि गरी १ लाख रुपैयाँ पुर्याइएको हो। त्यस्तै द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ। विजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।



प्रतियोगितामा प्रत्येक टिमबाट अधिकतम १० जना खेलाडी र एक जना म्यानेजर/कोच सहभागी हुन पाउने व्यवस्था गरिएको छ। सहभागी टिमको संख्याका आधारमा खेल लिग वा नकआउट प्रणालीबाट सञ्चालन गरिने आयोजकले जनाएको छ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सेटर/लिफ्टर र बेस्ट लिबेरो लगायतका विधामा व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ समेत घोषणा गरिनेछ।
प्रतियोगितामा सहभागी हुन ८ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। युवाहरूलाई खेलकुदमा सक्रिय बनाउँदै आपसी एकता, सद्भाव र खेलभावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नयाँ बस्ती युवा समितिले जनाएको छ।
“खेलकुद हाम्रो शान, स्वस्थ युवा हाम्रो अभियान” — “एकता, सद्भाव र खेलकुदका लागि” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको प्रतियोगिताले चौरीदेउराली–६ मा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
टिम दर्ता तथा थप जानकारीका लागि:
📞 ९८०३९७७५४६, ९७०८५८०४४८.







