आइतबार , अषोज २५, २०८३
एलिनालाई बाँच्न देऊ : डिर्भोस भएकै कारण एलिनाले प्राणको भिख माग्नुपर्ने हो ? – Yuwa Daily

सम्बन्धविच्छेद अन्त्य होइन, नयाँ अध्यायको सुरुवात हो
एलिना सम्बन्धविच्छेद हुनु जीवन सकिनु होइन , यो एउटा सम्बन्धको अन्त्य हो, जीवनको अन्तिम दाहसंस्कार होइन ।
हाम्रो समाज अझै पनि सम्बन्धविच्छेदलाई महिलाको परिचयसँग जोडेर हेर्ने गर्छ । विशेषगरी सार्वजनिक जीवन बिताइरहेका महिलाले सम्बन्धविच्छेद गरेपछि उनीहरूको क्षमता र संघर्षभन्दा पनि निजी जीवनलाई खोतलेर आत्मसम्मान नै गुमाइदिने प्रवृत्ति अझै हट्न सकेको छैन ।
गायिका एलिना चौहान पनि यस्तै प्रश्न र टिप्पणीको घेरामा वर्षौदेखि परेकी छिन् ।
सम्बन्धविच्छेद भएको वर्षौं बितिसक्दा पनि किन उनको विगतलाई बारम्बार वर्तमानमा तानिन्छ ? अब उनी कसैको श्रीमती होइनन् । त्यही वैवाहिक सम्बन्धले उनलाई पीडा दियो र उनी त्यो सम्बन्धको अन्त्य गर्न बाध्य भइन् । सम्बन्धको अन्त्य एलिनाको पनि चाहना थिएन होला ।
तर पनि किन उनको व्यक्तिगत जीवनलाई लिएर बारबार प्रश्न गरिन्छ ? जुन कुराले उनी विचलित भएको महसूस गर्छिन् ।
किन उनको क्षमता, कला र मेहनतभन्दा बढी उनको वैवाहिक सम्बन्धलाई उनको परिचय बनाउने प्रयास गरिन्छ ? वैवाहिक सम्बन्ध बाहेकको पनि त उसको एउटा ठूलो परिचय छ । आँफैमा उनी चर्चित ,क्षमतावान गायिका हुन् । उनको क्षमतालाई ओझेलमा पार्ने गरि अब भाला रोप्न जरुरी छ र ?

एलिना चौहानलाई बाँच्न देऊ ।
उनको जीवनमा के भयो भन्ने प्रश्नभन्दा पनि अब उनी कसरी अगाडि बढिरहेकी छन् भन्ने प्रश्न महत्वपूर्ण हो । उनको जीवनले अर्की महिलालाई प्रेरणा दिन सक्छ । त्यो हामीले खै किन बुझ्न सकेनौ ।
सम्बन्धविच्छेद कुनै अपराध होइन । सम्बन्ध टुट्नु कुनै महिलाको चरित्रको प्रमाण पनि होइन ।
र सम्बन्धविच्छेद भएकी महिला अरु कोइभन्दा कम भन्ने मापदन्ड पनि होइन ।
एउटी महिलाको परिचय उसको वैवाहिक अवस्थाले होइन, उसको क्षमता, आत्मसम्मानले निर्धारण गर्छ ।
आज एलिनाले गायिकाका रूपमा आफ्नो पहिचान बनाइसकेकी छिन् । उनले आफ्ना गीत, आवाज र मेहनतमार्फत दर्शकको मन जितिरहेकी छन् । त्यति मात्रै होइन आफ्नै मिहेनतले रमणी व्यवसाय पनि सुरु गरिन् । उनको त्यो हिम्मत र प्रेरणादायि जीवनलाई हामीले बुझेको खै त ?
तर विडम्बना, उनको सफलताको चर्चा भन्दा उनको विगतको सम्बन्धलाई बारम्बार चर्चामा ल्याउन व्यस्त छौँ । ताकी हाम्रो उदेश्य नै उनलाई गिराउनै पर्छ जस्तो ।
आखिर हामी कस्तो समाज निर्माण गर्दैछौँ ?
एउटी महिलाले सम्बन्धविच्छेद गरेपछि उसले आफ्नो जीवन फेरि सुरु गर्न किन समाजसँग अनुमति माग्नुपर्ने ?
उसले हाँस्न, गाउन, प्रेम गर्न, काम गर्न र आफ्नो भविष्य रोज्न किन कसैको स्वीकृति चाहिने किन ?

सबैभन्दा पीडादायी कुरा त यो हो सम्बन्धविच्छेद भएको महिलालाई पटक–पटक त्यही प्रश्नले घोचिरहने गरिन्छ । मानौँ उनको विगत नै उनको सम्पूर्ण जीवन हो ।
विचराको पात्र बनाइन्छ । यति सम्म भनिन्छ कि विचरा बुढोले छोडेको रैछ ।
एलिनाको विगत उनको एउटा अध्याय हुन सक्छ, तर उनको सम्पूर्ण कथा भने होइन ।
त्यसैले अब उनको व्यक्तिगत जीवनलाई कोट्याएर होइन, उनको प्रतिभालाई सम्मान गरेर हेरौँ । उनको कमजोरी खोजेर होइन, उनको क्षमता देखेर मूल्यांकन गरौँ । उनको विगतको हिसाब मागेर होइन, उनले वर्तमानमा गरिरहेको संघर्ष र भविष्यको यात्रालाई सम्मान गरौँ ।
सम्बन्धविच्छेदपछि महिलालाई सहानुभूति होइन, सम्मान र स्वतन्त्रता चाहिन्छ ।
किनकि कुनै पनि महिलाको जीवनको अन्तिम परिचय ‘डिभोर्स भएकी महिला’ होइन । उसको परिचय उसको क्षमता हो । उसको पहिचान उसको संघर्ष हो । एलिनालाई उनको विगतमा होइन, उनको वर्तमानमा बाँच्न देऊ ।
उनलाई प्रश्नको घेरामा होइन, आफ्नै सपनाको बाटोमा हिँड्न दिनुपर्छ ।
किनकि सम्बन्धविच्छेद जीवनको अन्त्य होइन—कहिलेकाहीँ आफ्नै जीवन रोज्ने साहसको सुरुवात हो ।

— सुस्मा तिखत्री
विचार लेख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP