कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन परिषद्ले बिहीबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै तयारीका विभिन्न पक्ष सार्वजनिक गरेको हो।
राष्ट्रिय खेलकुद परिषद्को १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतियोगिताको उद्घाटन सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने खेलहरू मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्।
प्रतियोगितामा ३२ खेलका ३८४ विधामा सातवटै प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र एनआरएनए गरी ११ टोलीको सहभागिता रहनेछ।



प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। पहिलोपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको परिषद्ले जनाएको छ।







