चौँरीदेउराली गाउँपालिका अन्तर्गत साविक कात्तिके देउराली वडा नं. ५ दारिम्बोटबाट लोकमार्ग हुँदै सुनकोशीसम्म जोडिने सडकमा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको भन्दै स्थानीयवासीले गम्भीर चासो व्यक्त गरेका छन्।
स्थानीयका अनुसार गाउँपालिकाकै बजेटबाट सम्पन्न गरिएको सडक निर्माण कार्यमा पैदल यात्रुका लागि समेत सुरक्षित बाटो नराखी लोकमार्ग विस्तार गरेको भन्ने कुरा बाहिर आएकोछ। साथै ढल निकास तथा पर्खाल निर्माण गर्दा सडकको वास्तविक अवस्थाप्रति बेवास्ता गरिएको आरोप स्थानीयको छ।
स्थानीय समाजसेवी तथा नागरिकहरूले सम्बन्धित निकाय र जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै समयमै आवश्यक पहल नगरे समस्या झन् जटिल बन्न सक्ने बताएका छन्। जनताको दैनिक आवतजावतसँग प्रत्यक्ष जोडिएको विषयमा गाउँपालिका प्रशासन मौन बसेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयवासीको माग सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी सडक विस्तार, सुरक्षित पैदलमार्ग निर्माण तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि शीघ्र कदम चालोस्। जनताको आवश्यकता र आवाजलाई समयमै सम्बोधन गर्नु नै जनप्रतिनिधि र स्थानीय सरकारको प्रमुख दायित्व भन्ने उनीहरूको भनाइ रहेको छ ।










