बुधबार , अषोज २८, २०८३
बजार घट्दा पनि आम्दानी गर्ने व्यवस्था आउँदै, ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारीमा सेबोन – Yuwa Daily

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपाली पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ (Short Selling) प्रणाली लागू गर्ने तयारी भइरहेको बताएका छन्। यस व्यवस्थाले बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल (रिटर्न) लिन सक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

बुधवार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले नेपालको सेयर बजारमा “बजार सधैं बढिरहनुपर्छ” भन्ने एकपक्षीय सोच हाबी रहेको उल्लेख गरे। उनका अनुसार बजारमा सामान्य गिरावट आउँदा समेत नियामक निकायमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको छ, जबकि धितोपत्र बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष, पारदर्शी र व्यवस्थित नियामकीय वातावरण तयार गर्नु हो।

उनले भने, “अब हामी यस्तो संयन्त्र विकास गर्दैछौँ, जसले बजार जुनसुकै दिशामा गए पनि लगानीकर्ताले आफ्नो विश्लेषण र रणनीतिका आधारमा प्रतिफल लिन सकून्। बजार तल जाँदा पनि आम्दानी हुने र माथि जाँदा पनि अवसर रहने व्यवस्था निर्माण हुँदैछ।”

सर्ट सेलिङ भनेको के हो?

प्रस्तावित सर्ट सेलिङ प्रणाली अन्तर्गत लगानीकर्ताले मूल्य घट्ने अनुमान गरेको सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि बजार मूल्य घटेपछि सोही सेयर कम मूल्यमा खरिद गरेर फिर्ता गर्दा बिक्री र खरिद मूल्यबीचको अन्तर नै उनीहरूको नाफा हुनेछ।

अध्यक्ष भट्टका अनुसार यो प्रणालीले लगानीकर्तालाई बजारको उतारचढावलाई अवसरका रूपमा उपयोग गर्न मद्दत गर्नेछ। साथै बजार घट्नेबित्तिकै आन्दोलन गर्ने वा नियामकमाथि दोषारोपण गर्ने प्रवृत्तिमा समेत कमी आउने विश्वास उनले व्यक्त गरे।

अफवाह नियन्त्रणमा पनि कडाइ

अध्यक्ष भट्टले पुँजीबजारमा फैलिने अफवाह, भ्रामक सूचना तथा बजार प्रभावित गर्ने गतिविधि नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउने तयारी भइरहेको जानकारी दिए। सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणका विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर प्रभावकारी रूपमा काम गर्ने उनले बताए।

‘पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक

उनले नेपालको पुँजीबजारलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ तथा आगामी आर्थिक वर्षका नीतिहरू सार्वजनिक गरिएको जानकारी पनि दिए। यी नीतिमार्फत बजार सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासलाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP