मंगलबार , साउन ५, २०८३
स्याङ्जामा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड १५ लाख रुपैयाँ राजस्व संकलन – Yuwa Daily

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्ष २०८२र८३ मा जिल्लाभर विभिन्न प्रकारका १३ हजार ५५१ सवारीसाधन कारबाहीमा परेका छन् । ती कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
सबैभन्दा धेरै ४ हजार ६१४ मोटरसाइकल चालक कारबाहीमा परेका छन् । त्यसपछि कार तथा जिप ३ हजार ३२६, ट्रक र टिपर २ हजार २५५, बस १ हजार ५४०, ट्याक्टर ९१२ र अन्य ९४२ सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।

आर्थिक वर्षको तथ्यांक हेर्दा जेठ महिनामा सबैभन्दा धेरै कारबाही गरिएको छ । जेठ महिनामा मात्रै १ हजार ५०२ सवारीसाधनका चालक कारबाहीमा परेका छन् । त्यसबाट १२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
तथ्यांकले ट्राफिक कारबाहीसँगै राजस्व संकलनमा पनि घट्दो प्रवृत्ति देखाएको छ । आर्थिक वर्ष २०८१र८२ मा १९ हजार २८९ सवारीसाधनका चालक कारबाहीमा परेका थिए भने त्यसबाट १ करोड ४१ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा १४ हजार ६१० सवारीसाधनका चालकमाथि कारबाही हुँदा १ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व उठेको थियो ।

यस वर्ष भने कारबाहीमा परेका सवारीसाधन चालकको संख्या र त्यसबाट उठेको राजस्व दुवै घटेका छन् । यही कारण पछिल्ला तीन आर्थिक वर्षको तुलना गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यस वर्ष केही हदसम्म कम राजस्व संकलन गरेको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जेनजी आन्दोलन र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही समय नियमित ट्राफिक कारबाही प्रभावित भएकाले त्यसको असर कारबाही र राजस्व संकलनको तथ्यांकमा पनि देखिएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर नियमित चेकजाँच, सवारी सचेतना तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई निरन्तरता दिइएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२र८३ मा जिल्लाभर २० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ९ जनाको मृत्यु, २४ जना गम्भीर घाइते र २३ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल, जीप तथा बस संलग्न रहेको विवरणमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक शाहीले ट्राफिक कारबाहीको उद्देश्य राजस्व उठाउनु नभई दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्नु रहेको बताए ।

‘हामीले सवारी कारबाहीलाई राजस्व संकलनको माध्यमका रूपमा होइन, सडक सुरक्षाको उपायका रूपमा लिएका छौं,’ शाहीले भने, ‘ट्राफिक नियम पालना गराउने, चालकलाई जिम्मेवार बनाउने र दुर्घटना कम गर्ने उद्देश्यले नियमित चेकजाँचलाई प्रभावकारी बनाएका छौं । पछिल्लो समय ट्राफिक सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अघि बढाएका छौं ।’

उनका अनुसार अत्यधिक गति, ओभरलोड, कागजात नबोक्ने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउने तथा हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष निगरानी गरिएको छ । विद्यालय, चालक, यातायात व्यवसायी र स्थानीय तहसँग समन्वय गरेर ट्राफिक सचेतना अभियानलाई समेत निरन्तरता दिइएको उनले बताए ।

शाहीले ट्राफिक नियमको पालना गर्न सके दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घट्ने भन्दै सबै चालक र यात्रुलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गरे । उनले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले नियम पालना नै सुरक्षित यात्राको आधार भएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP