बाजुरा । अविरल वर्षासँगै बाजुरामा बाढी–पहिरोका घटना बढ्न थालेका छन्। बडिमालिका नगरपालिका–९ सेलागाडमा नदी थुनिएर बस्तीमा पानी पसेपछि १६ घरधुरी प्रभावित भएका छन् भने जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीका अनुसार शुक्रबार बिहान करिब ४:३५ बजे वर्षाका कारण आएको बाढी–पहिरोले सेलागाड क्षेत्रमा नदी थुनिँदा बस्तीमा पानी पसेको हो। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।



प्रहरीका अनुसार प्रभावित १६ घरधुरीमध्ये ३ घरधुरी उच्च जोखिममा रहेका छन् भने १३ घरधुरी जोखिममा छन्। उच्च जोखिममा रहेका तीन घरमा २२ जना र अन्य १३ घरधुरीमा ८३ जना बसोबास गर्दै आएका छन्। प्रभावित परिवारका सदस्य तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायतका सरसामान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
घटनाका क्रममा स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती आत्तिएर बेहोस भएकी थिइन्। उनलाई तत्काल जिल्ला अस्पताल बाजुरा पुर्याएर उपचार गरिएको र उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। घटनामा अन्य कुनै मानवीय वा चौपायाको क्षति भएको छैन।
प्रहरीका अनुसार घरहरू प्रत्यक्ष रूपमा पहिरोले बगाउने अवस्था नरहे पनि नदी थुनिएर पानी बस्तीमा पसेका कारण क्षति पुगेको हो। उच्च जोखिममा रहेका तीन घरको अवस्था निरन्तर निगरानीमा राखिएको छ।
यही पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा पनि क्षति पुगेको छ। करिब २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएको प्रहरीले जनाएको छ।
यस्तै, बिहान करिब ५:३५ बजे साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत बडिमालिका नगरपालिका–६ जडाङ्गा क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। प्रहरी र सडक डिभिजन कार्यालयको जेसीबीको सहयोगमा पहिरो हटाउने कामपछि सडक क्रमशः सञ्चालनमा ल्याइएको छ।
मनसुन सक्रिय भएसँगै बाजुराका विभिन्न सडकमा दैनिकजसो पहिरो खस्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। जोखिमयुक्त स्थानमा प्रहरी परिचालन गरी सडक खुलाउने, आवश्यक परे केही समय सवारी आवागमन रोक्ने तथा अवस्था सुरक्षित भएपछि मात्र सञ्चालन गर्न दिइएको छ।
प्रहरीले बाढी–पहिरोको जोखिम रहेका क्षेत्रका स्थानीयलाई सतर्क रहन, नदी आसपास तथा जोखिमपूर्ण स्थानमा नजान र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। मौसममा केही सुधार देखिए पनि थप वर्षा हुन सक्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।







