धनुषा। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धनुषाका विभिन्न कृषि क्षेत्रको अनुगमन गर्दै किसानलाई स्थानीय स्रोतबाट उत्पादन हुने प्राङ्गारिक तथा गोठे मलको प्रयोग बढाउन आग्रह गर्नुभएको छ।
धनुषा जिल्लाको कृषि उत्पादन र माटोको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मन्त्री चौधरीले किसानसँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो। उहाँले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि. तथा चित्रनगरस्थित आँप बगैंचाको अवलोकन गर्नुभयो।



अनुगमनका क्रममा मन्त्री चौधरीले माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक खेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
“माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु। यसले रासायनिक मलमाथिको निर्भरता घटाउँदै माटोको दीर्घकालीन सुधारमा टेवा पुर्याउँछ,” मन्त्री चौधरीले भन्नुभयो।
लक्ष्मीनियाँस्थित कस्टम हायरिङ सेन्टरमार्फत किसानलाई आधुनिक कृषि उपकरण सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ। मन्त्री चौधरीले उक्त केन्द्रको निरीक्षण गर्दै कृषकलाई आधुनिक प्रविधिको उपयोगसँगै स्थानीय स्रोतमा आधारित कृषि प्रणाली अपनाउन आग्रह गर्नुभयो।
त्यसैगरी, अन्नपूर्ण माछापालन कम्पनीले व्यवसायिक माछापालनसँगै माछाको भुरा, दाना तथा आवश्यक औषधिको आपूर्ति गरी स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्याउँदै आएको जानकारी दिइएको छ।
मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गर्दै फलफूल खेतीको व्यावसायिक विस्तार र उत्पादन वृद्धि गर्न आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।






