काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीकी माननीय सांसद ज्वाला संग्रौलाले नागरिकका गुनासा सहज रूपमा सुन्नका लागि सिंहदरबारको प्रवेशद्वारमा हेल्प डेस्क स्थापना गर्न सरकारसँग आग्रह गरेकी छन्।
संसद्मा बोल्दै सांसद संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा आउनुभन्दा अगाडिदेखि नै नागरिकका गुनासा सुन्ने प्रतिबद्धता व्यक्त गर्दै आएको र गुनासाहरू सुन्दै पनि आएको बताइन्।



उनले अहिले आफ्नै सरकार र सिंहदरबारमा आफ्नै बहुमत रहेको अवस्थामा नागरिक समस्या लिएर सिंहदरबारको ढोकासम्म आइपुग्दा पनि भित्र प्रवेश गर्न नपाउने अवस्था भए नागरिकका समस्या कसरी सुन्ने भन्ने प्रश्न उठाइन्।
सांसद संग्रौलाले भनिन्, “सम्माननीय सभामुख महोदय राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा आउनुभन्दा अगाडिदेखि नै नागरिकका गुनासा सुन्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो र गुनासाहरु सुन्दै पनि आएको थियो। आज हामीसँग आफ्नै सरकार छ सिंहदरबारमा आफ्नै बहुमत छ। तर प्रश्न छ नागरिकहरू समस्या लिएर सिंहदरबारको ढोकासम्म आइपुगेर पनि भित्र पस्न पाएनन् भने हामी नागरिकका समस्या कसरी सुन्छौं रु”
उनले देशका विकट क्षेत्रबाट आफ्ना दुःख र आशा बोकेर सिंहदरबार आउने नागरिकलाई सहज रूपमा प्रवेश गर्न दिनुपर्ने बताएक िछिन् ।
“सुदुर पुर्ब ताप्लेजुङको ओलाङचुङ गोलाबाट दुःख बोकेर आएको नागरिक होस् वा सुदूरपश्चिम अछामको रहफ–भुलुबाट आशा बोकेर आएको नागरिक होस् उसले सहज रूपमा सिंहदरबार छिर्न पाउनुपर्छ,” उनले भनेकी छन् ।
सिंहदरबार प्रवेशका लागि मन्त्रालयको पास आवश्यक पर्ने व्यवस्था रहेको उल्लेख गर्दै संग्रौलाले कुनै पहुँच नभएको सामान्य नागरिकले पासका लागि कसलाई फोन गर्ने भन्ने प्रश्नसमेत गरेकी छिन् ।
उनको माग यति थियो, “भित्र छिर्न मन्त्रालयको पास चाहिने नियम छ तर कहीँ कतै पहुँच नभएको एउटा सामान्य नागरिकले कसलाई फोन गरेर पास मगाउने?”
त्यसैले सिंहदरबारको प्रवेशद्वारमै नागरिकलाई सहजीकरण गर्ने गरी हेल्प डेस्क स्थापना गर्नुपर्ने उनको भनाइरहेको छ। सम्भव भए उक्त व्यवस्थालाई अनलाइन प्रणालीमार्फत समेत सञ्चालन गर्नुपर्ने उनले बताएकी छिन्।
सांसद संग्रौलाले भनिन्, “त्यसैले मेरो आग्रह छ सभामुख महोदय सिंहदरबारको प्रवेश द्वारमा हेल्प डेक्स स्थापना गरौं सकिन्छ भने यसलाई अनलाइन सिस्टम मार्फत पनि गरौं।”
उनले सिंहदरबार प्रवेशमा रोक लगाउने व्यवस्था बिचौलियालाई लक्षित गरेर गर्नुपर्ने, तर नागरिकका लागि भने सिंहदरबार खुला गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।
“सिंहदरबार प्रवेश रोक त बिचौलियालाई पो हो त सभामुख महोदय, जनताका लागि त खुल्ला गरौ न के बिग्रन्छ? ” उनले प्रश्न गरिन्।




