चीनले पठाएको विपद् उद्धार तथा राहत सामग्रीको पहिलो खेप आइतबार काठमाडौँ आइपुगेको छ । चिनियाँ सैन्य विमानले तालिमप्राप्त उद्दारकर्मीसहितको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारेको हो ।चिनियाँ सरकारको सञ्चारमाध्यम सीजीटीएनका अनुसार चीनले पठाएको राहत सामग्रीमा तत्काल आवश्यक पर्ने टेन्ट, कम्बल, सुत्ने झोला, प्याकेटबन्दी खाना तथा प्राथमिक उपचारका सामग्री पठाएका छन्।राहत सामग्रीसँगै उद्धार कार्यमा सहयोग गर्न चार जना चिनियाँ सुरुङ उद्धारकर्मी पनि सोही विमानबाट काठमाडौँ आएका छन्। उनीहरूले नेपालमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछन्।
नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सार्वजनिक गरेको तथ्यांक उदृत गर्दै सीजीटीएनले अगस्ट २६ मा नेपालको उत्तरी क्षेत्रमा आएको पहिरोमा ६ सय ७५ जनाको मृत्यु भएको र २ हजार ४ सय ९८ जना बेपत्ता रहेको जनाएको छ।विपद्पछि चीनले नेपाललाई उद्धार तथा राहतमा सहयोग गर्दै आएको छ। पछिल्लो सहयोगअन्तर्गत आएको सामग्री तथा उद्धारकर्मीले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत र खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने छ।







