बिहिबार , भाद्र १८, २०८३
स्याफ्रुवेंशीमा भोटेकोशीको वितण्डा : बस्ती उजाडियो, आफन्तको आशा अझै बाँकी – Yuwa Daily

रसुवाको स्याफ्रुवेंशी भोटेकोशी नदीमा आएको भीषण बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ। बनेको छ। एकाएक आएको बाढीले स्थानीयवासीको वर्षौंको मेहनत र सम्पत्ति बगाएपछि अहिले सिंगो बस्ती शोक र त्रासमा छ।

धुन्चेदेखि करिब पाँच किलोमिटरसम्म सडकको पहुँच रहे पनि त्यसपछि रहेको स्याफ्रुवेंशी बजारसम्म पुग्न अहिले सहज छैन। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पासाङ ल्हामु राजमार्गका विभिन्न भाग क्षतविक्षत बनाएपछि सडक सम्पर्क टुटेको हो। सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ।

बाढीले घर तथा होटल मात्रै बगाएको छैन, कतिपय परिवारका सदस्यसमेत सम्पर्कविहीन भएका छन्। स्थानीयवासी र आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन नसक्दा थप चिन्तित बनेका छन्। आफन्तको मोबाइलमा फोन गर्दा सम्पर्क नहुने र उनीहरू कहाँ छन् भन्ने जानकारीसमेत नहुँदा परिवारमा बेचैनी बढेको छ।

दिन बित्दै जाँदा बेपत्ता व्यक्तिहरू जीवितै भेटिने आशा अझै मरेको छैन। तर, समय बित्दै जाँदा आशासँगै चिन्ता पनि बढिरहेको छ। आफन्तहरू एकातिर आफ्ना मान्छे सकुशल भेटिने प्रार्थना गरिरहेका छन् भने अर्कोतिर उनीहरूको अवस्था के भयो भन्ने पीडादायी प्रश्नको जवाफ पर्खिरहेका छन्। कतिपय परिवारलाई हराइरहेका आफन्तको शवसमेत भेट्न नसकिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।

बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी निरन्तर परिचालित छन्। रसुवास्थित श्री श्रीनाथ गणका सहायक रथी उज्ज्वलविक्रम राणाका अनुसार बाढी आएको दिनदेखि नै सुरक्षाकर्मीले उद्धार, राहत तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र जोखिमपूर्ण नदी आसपासका कारण उद्धार तथा खोजी कार्य सहज भने छैन। कतिपय स्थानमा पैदलमार्फत पुग्नुपर्ने अवस्था रहेको छ भने बाढीले सडक र पुलमा पुर्‍याएको क्षतिका कारण सुरक्षाकर्मी तथा उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न थप चुनौती भइरहेको छ।

सुरक्षा निकायले स्याफ्रुवेंशीलगायत बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रयास पनि जारी छ।

यसैबीच, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ। सडक सम्पर्क पुनःस्थापना नहुँदा उद्धार, राहत र खोजी कार्य प्रभावित भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ।

भोटेकोशीको बाढीले स्याफ्रुवेंशीको भौतिक संरचना तहसनहस बनाए पनि बेपत्ता आफन्त सकुशल फर्किने आशा भने स्थानीय परिवारले अझै छाडेका छैनन्। उद्धार टोलीको खोजी जारी रहँदा स्याफ्रुवेंशीका परिवारहरू हरेक क्षण आफन्तको खबर पर्खिरहेका छन्।

सुरक्षा संयन्त्रले स्याफ्रुवेंशीलगायत प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP