हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भीड बढेको छ। भक्तजनका लागि बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएपछि दर्शन गर्न सहज भएको छ।बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन्। सुरक्षा स्रोतका अनुसार अहिले पनि करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा छन्।
तीजका अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासको क्षेत्रको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले १ हजार २ सय ५० प्रहरी परिचालन गरेको छ। प्रहरीले दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश तथा दर्शनको व्यवस्था मिलाउनुका साथै ट्राफिक व्यवस्थापनसमेत गरेको छ।



भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिर परिसरमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीले सिसिटिभी र ड्रोनमार्फत निगरानी गरिरहेको छ भने सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ।
प्रहरीले आज दिनभर दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। सुरक्षा व्यवस्थापन र दर्शनको सहजीकरण प्रभावकारी भएकाले मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनहरूले प्रतिक्रिया दिएका छन्।





