प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।
संसद् सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ।



बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलन अनुमोदनका लागि प्रस्ताव पनि पेस गर्नेछिन्।
त्यस्तै, आज विभिन्न संसदीय समितिका बैठक पनि बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक बस्ने कार्यक्रम रहेको छ।





