पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याक सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि तत्काल वैकल्पिक मार्ग निर्माण सुरु गरिएको थियो। आइतबार भित्तातर्फको कटिङ र सडक सम्याउने काम पूरा भएपछि केही सवारीसाधनलाई परीक्षणका रूपमा नयाँ ट्र्याकबाट पार गराइएको थियो। परीक्षण सफल भएपछि बाँकी निर्माण कार्यलाई तीव्रता दिइएको छ।
निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार अहिले ग्राभेलिङ, स्लोप कटिङ तथा नाली निर्माणको काम भइरहेको छ। करिब ३०० मिटर लामो ट्र्याकमा सात मिटर चौडा सडक र नालीसहित करिब साढे सात मिटरको संरचना तयार गरिएको उनले बताए।



‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,’ नेपालले भने।
निर्माणको सुरुवाती चरणमा ११ देखि १२ वटा हेभी उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४० देखि ५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँचदेखि छवटा हेभी उपकरण प्रयोग भइरहेका छन्।
हाल नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ट्र्याकमा ग्राभेलिङ गर्ने काम भइरहेको छ। सडकको छेउमा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई समेटेर थप ड्रेन बनाउने कामसमेत भइरहेको निर्माण पक्षले जनाएको छ। सब–बेसको अन्तिम तह पूरा भएपछि नयाँ ट्र्याक यातायात सञ्चालनका लागि तयार हुनेछ।
निर्माण पक्षले कृष्णभीरको उक्त खण्ड अझै जोखिमयुक्त रहेको जनाएको छ। थप पहिरो नआए तोकिएको समयमै काम सम्पन्न गरी यातायात सञ्चालन गर्न सकिने इञ्जिनियर नेपालको भनाइ छ।
यता, नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार केही सवारीसाधनलाई परीक्षणका लागि मात्र नयाँ ट्र्याकबाट पार गराइएको स्पष्ट पारेका छन्।
उनले अहिले ट्र्याक सर्वसाधारणका लागि खुला नगरिएको भन्दै नयाँ सडक सञ्चालनमा आएको भ्रममा नपर्न आग्रह गरे। उनका अनुसार थप समस्या नआए असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।





