काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार ९ट्यारिफ० लगाउने घोषणा गरेका छन्। अमेरिकाले क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिराप्रति असमान व्यवहार गरेको आरोप लगाउँदै यस्तो निर्णय गरेको हो।
ह्वाइट हाउसका अनुसार नयाँ ट्यारिफ ३० दिनपछि लागू हुनेछ। यससँगै अमेरिका–क्यानडा व्यापार सम्बन्धमा तनाव थप बढ्ने अनुमान गरिएको छ।



क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आगामी केही साताभित्र अमेरिकासँगको व्यापार वार्तालाई तीव्र बनाइने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकाले क्यानडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौता (USMCA) को भावना विपरीत एकपक्षीय व्यापारिक कदम चालिरहेको आरोप लगाएका छन्।
नयाँ ट्यारिफ वाइन, हक्की स्टिकलगायत उपभोग्य वस्तुदेखि औद्योगिक सामग्रीसम्म लागू हुने जनाइएको छ। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजस्ता प्रमुख क्यानडाली निर्यात वस्तु भने यसबाट छुट दिइएको छ।
यसअघि पनि अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, एल्युमिनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाउँदै आएको छ। साथै सफ्टवुड काठमा ३५ प्रतिशत र सवारीसाधनमा प्रयोग हुने गैर(अमेरिकी पार्टपुर्जामा २५ प्रतिशत शुल्क कायम छ।
यसको प्रतिकारस्वरूप क्यानडाले अमेरिकी स्टिल, एल्युमिनियम तथा केही सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक ट्यारिफ लागू गरेको छ।
यो निर्णय राष्ट्रपति ट्रम्पले केही दिनअघि क्यानडाबाट फैलिएको डढेलोको धुवाँ अमेरिकी सहरसम्म पुगेको भन्दै थप ट्यारिफ लगाउने चेतावनी दिएपछि आएको हो।







