काठमाडौं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै विनियोजित बजेट आगामी फागुन मसान्तभित्र खर्च गरिसक्न सबै निकायलाई निर्देशन दिएको छ।
मार्गदर्शनअनुसार फागुनसम्म खर्च हुन नसक्ने बजेट २०८३ चैत १५ भित्र अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्नेछ। मन्त्रालयगत बजेट सूचना प्रणाली ९ीःद्यक्ष्क्० मा समावेश कार्यक्रमलाई स्वीकृत कार्यक्रम मानी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट निकासा गर्ने व्यवस्था गरिएको छ।



यदि वार्षिक स्वीकृत कार्यक्रमका लागि छुट्याइएको बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने अवस्था भए उक्त रकम चैत १५ भित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। एउटै आयोजना दोहोरो रूपमा बजेट प्रणालीमा प्रविष्ट भएको पाइएमा एउटा मात्र कार्यान्वयन हुने र बाँकी बजेट रोक्का गरी अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्नेछ।
मार्गदर्शनमा समपूरक तथा विशेष अनुदानका आयोजनामा आवश्यक परे रकमान्तर वा कार्यक्रम संशोधन गर्न सकिने व्यवस्था पनि गरिएको छ। तर, त्यसका लागि राष्ट्रिय योजना आयोगको सिफारिससहित अर्थ मन्त्रालयको स्वीकृति आवश्यक हुनेछ।
प्रदेश र स्थानीय तहले ससर्त अनुदानबाट प्राप्त रकम तोकिएको कार्यक्रममै खर्च गर्नुपर्नेछ। कार्ययोजना, मासिक नगद प्रवाह विवरण तथा बजेटसम्बन्धी कागजात साउन मसान्तभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, ससर्त अनुदानको भौतिक तथा वित्तीय प्रगति विवरण २०८३ मंसिर १५, चैत १५ र २०८४ असार १५ भित्र पेस गर्नुपर्नेछ। वार्षिक आर्थिक विवरण भने आगामी आर्थिक वर्षको साउन मसान्तभित्र बुझाउनुपर्नेछ।
मार्गदर्शनमा वैदेशिक सहायता प्राप्त आयोजनाको कार्यान्वयन, शोधभर्ना प्रक्रिया, खरिद व्यवस्थापन, अस्थायी दरबन्दी स्वीकृति, वित्तीय जोखिम व्यवस्थापन तथा पूँजीगत खर्च सुधारका विषयमा समेत विस्तृत व्यवस्था गरिएको छ। मन्त्रालयले समयमै बजेट कार्यान्वयन गरी खर्चको प्रभावकारिता बढाउन सबै निकायलाई निर्देशन दिएको छ।







