सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालयमै रंगेहात पक्राउ गरेको हो।
प्रारम्भिक जानकारीअनुसार, सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले आफूभन्दा माथिका अधिकारीसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै सुरुवातमै ५ लाख रुपैयाँ घुस मागेको आरोप छ। घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक कागजात पेस गराइएको आरोप लगाइएको छ।



अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखाइएको थियो। थप कागजात पेस गरेपछि उक्त दायित्व अझ ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने जानकारी दिइएको स्रोतले जनाएको छ।
त्यसपछि कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति भएको आरोप छ।
घुस बुझाउने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसोदेखि प्रतिक्षामा राखिएको थियो। पछि पालले फोनमार्फत भेट्ने स्थान र समय परिवर्तन गर्दै अन्ततः कार्यालयमै रकम ल्याउन भनेका थिए।
कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन्।
घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ।







