सिरहा, साउन १२ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र प्रहरी दमन अन्त्यको माग गर्दै केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए। त्यसपछि स्थानीय प्रशासन र आन्दोलनकारीबीच भएको छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनका कारण करिब आधा घण्टा सडक अवरुद्ध भएको थियो। अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि सिरहाको कर्जन्हा, गोलबजार र धनगढीमाई क्षेत्रमा सुनसरी घटनाको विरोधमा प्रदर्शन भएका थिए।
उल्लेखनीय छ, सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि सुनसरीसहित विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ।






