वीरगन्ज — वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए।



हाल चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिक सेवा समेत प्रभावित हुने गरी आन्दोलन सुरु गरेका छन्। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि तयार भएका थिए।
उनले चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि आफूहरू जिल्ला प्रशासन कार्यालय पुगेको बताए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उनको दाबी छ।
डा. सिंहका अनुसार नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने चेतावनी दिएपछि सीडीओ आक्रोशित बने। त्यसपछि सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपमानजनक व्यवहार गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाए।
उनले भने, “वार्ताबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकहरूलाई घेरा हाल्यो, मोबाइल खोस्यो र पुनः कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राख्यो। अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।”
उनका अनुसार प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। “सबै चिकित्सकले राजीनामा दिएपछि अस्पतालको आकस्मिक सेवा कसले सञ्चालन गर्ने भन्ने अन्योल सिर्जना भएको छ। अहिले अस्पतालको सेवा लगभग ठप्प छ,” उनले बताए।
डा. सिंहले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान दोहोर्याए। “अस्पतालभित्र चिकित्सकमाथि आक्रमण हुन्छ, वार्ताका नाममा प्रशासनले नै धम्की दिन्छ भने सुरक्षित वातावरण कसरी हुन्छ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिँदैन,” उनले भने।
यता नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
उल्लेखनीय छ, गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्।






