काठमाडौं — सुनसरीलगायत देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण अवस्थाबीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेसँग भएको भेटवार्तापछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी तथा जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।



संयुक्त विज्ञप्तिमा भनिएको छ, “धर्मको नाममा हिंसात्मक गतिविधि फैलाउने प्रयास भइरहेका बेला सम्पूर्ण नागरिकलाई संयमित रहन तथा उत्तेजनात्मक, घृणात्मक र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यमा संलग्न नहुन हार्दिक आग्रह गर्दछौं।”
विज्ञप्तिमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराम फुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीको हस्ताक्षर रहेको छ।
धार्मिक अगुवाहरूले सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई सुदृढ बनाउनु रहेको उल्लेख गरेका छन्। कुनै पनि धर्मले अर्को धर्म वा समुदायप्रति विभेद वा घृणाको शिक्षा नदिने भन्दै सामाजिक सद्भावलाई जोगाउनु सबैको साझा दायित्व भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा नेपालमा सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने प्रयासप्रति सचेत रहन सबैलाई आग्रह गरिएको छ। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाले संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।






