काठमाडौं — अर्थ मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको ७३.२१ प्रतिशत मात्रै खर्च गर्न सकेका छन्।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा चालुतर्फ विनियोजित बजेटको ६८.३७ प्रतिशत र पुँजीगततर्फ ८८.३४ प्रतिशत खर्च भएको हो। सो वर्ष अर्थ मन्त्रालय र मातहतका निकायका लागि कुल ३८ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।



विनियोजित बजेटमध्ये २८ अर्ब ५५ करोड ८ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। चालुतर्फ २९ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएकामा २० अर्ब २० करोड रुपैयाँ खर्च भएको छ।
यस्तै, पुँजीगततर्फ ९ अर्ब ४५ करोड रुपैयाँ बजेट छुट्याइएकामा ८ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ।
पुँजीगत बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल का लागि विनियोजन गरिएको थियो। उक्त परियोजनाका लागि ७ अर्ब १२ करोड रुपैयाँ छुट्याइएकामा ७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ, जुन विनियोजन गरिएको रकमभन्दा बढी हो।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल १५ खर्ब ८१ अर्ब रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत खर्च १४.७८ प्रतिशतले घटेको छ भने चालु खर्च ९.०७ प्रतिशतले वृद्धि भएको छ।
सरकारले चालुतर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरेकामा १० खर्ब ४३ अर्ब रुपैयाँ खर्च गरेको छ, जुन कुल विनियोजनको ८८.३४ प्रतिशत हो।
त्यसैगरी, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएकामा १ खर्ब ९० अर्ब ८७ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो विनियोजनको ४६.७९ प्रतिशत हो।
वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकामा ३ खर्ब ४७ अर्ब रुपैयाँ खर्च भएको सरकारी तथ्यांकले देखाएको छ।






