काठमाडौं, काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको आगलागीमा १४ वटा विभिन्न व्यवसायिक पसलमा क्षति पुगेको छ।
प्रहरीका अनुसार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो रिकन्डिसन, हार्डवेयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसल जलेका हुन्।



आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा ९ वटा दमकल र ३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो। करिब राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ निवासी ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।
आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत मूल्यांकनका लागि थप अनुसन्धान भइरहेको छ।






