शुक्रबार , अषोज १६, २०८३
क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए – Yuwa Daily

२०८३ साउन २० गते साँझ ५ बजे । दोलालघाटको भित्री बजारमा एक वृद्ध लयमा हिँडिरहेका दम्पती देखिन्छन् । वृद्ध फुर्तिलै छन् । हिँडाइ पनि टठिलै देखिन्छ । कुर्था सुरूवाल, ढाका टोपी लगाएका वृद्धले पिठ्युँमा श्रीमतीलाई बोकेका छन् ।

श्रीमती केही अशक्तजस्ती देखिन्छिन् ।

शान्त लयमा उनले श्रीमानलाई अँगालो हालेकी छन् ।

दोलालघाट बजारमा कैद भएको सिटिसिटीमा वृद्ध निकै हतारमा देखिएका छन् । उनी दायाँबायाँ नहेरी एकतमासले हिँडिरहेका छन् ।

साँझ पर्न लागेको समय, आकाश धुम्किएकै छ । पानी पर्लापर्लाजस्तो पनि छ । परिहालेको चाहिँ छैन ।

मानिसहरू आफ्नै धुनमा छन् । बर्खामास भएकाले बजार क्षेत्रमा मानिसहरूको आउजाउ उतिसारो छैन ।

शान्त लयमा रहेको बजारमा एकाएक खैलाबैला मच्चिन्छ– मन्दिरछेउबाट सुनकोशीमा मान्छे हाम फाले!

को, कहाँबाट, कसरी हाम फालेरु बजारका मानिसहरूले खासै भेउ पाउँदैनन् । एकछिन पनि थाहा हुन्छ– सुनकोशीमा फाल हालेर अलप हुने अरू कोही नभएर तिनै वृद्ध दम्पती हुन्छन्, जो अघि बजार क्षेत्रमा देखिएका थिए ।
तत्क्षण नै प्रहरी आइपुग्छ र खोजी थाल्छ । रातिसम्मै खोजी गर्दा पनि सास र लासको टुंगो लाग्दैन ।

वृद्ध दम्पतीको खोजी कार्य बिहीबार पनि जारी छ । तर उनीहरूको अवस्था पत्ता लागेको छैन ।

घटनाबारे मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार त्यसरी बेपत्ता हुने कुन्ताबेसीका वृद्ध केदारनाथ पराजुली र उनकी श्रीमती तीलकुमारी पराजुली हुन् ।

श्रीमान् केदार ६८ वर्षका भए । पत्नी तीलकुमारी ६७ वर्षकी भइन् ।

मण्डनदेउपुर–७ निवासी पराजुली दम्पती मध्यम आय भएको परिवार हो । घरमा एक छोरा, बुहारी र एक नाती र एक नातिनी छन् । तीन छोरीको बिहे भइसकेको छ ।

बुढाबुढी छोराबुहारीसँगै बस्दै आएका थिए ।

छोरा खेतीकिसानी गर्छन् । बुहारी गाउँनजिकैको विद्यालयमा पढाउँछिन् ।

पारिवारिक कलह पनि त्यति सुनिएको थिएन ।

पत्नी तीलकुमारी बोन म्यारो क्यान्सरपीडित थिइन् । उनको उपचार गरिरहनुपर्थ्यो । परिवारमा त्यसको ताडना पनि गाउँलेहरूले महसुस गरेका थिएनन् । वडाध्यक्ष पौडेलका अनुसार २१ महिनाअघि तीलकुमारीलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

‘उहाँहरू मेरै वडाको हो । कुन्ताबेसी चोककै हुनुहुन्छ उहाँहरू । त्यति समस्यामा परेको पनि थाहा थिएन । पत्नी क्यान्सरको बिरामी हुनुहुन्थ्यो । अशक्त पनि हुनुभएको थियो, क्यान्सर रोग खर्चिलो र उपचार गराइरहनुपर्ने पनि भएकाले अस्पताल गइरहनुपर्थ्यो, हामीले थाहा पाएको त्यति हो,’ वडाध्यक्ष पौडेलले भने ।

पौडेलका अनुसार वृद्ध दम्पतीले बुधबार साँझ आफैले गाडीको प्रबन्ध गरेर दोलालघाट पुगेको खुलेको छ । दोलालघाट बजार क्षेत्रसम्म गाडीमै गएको पनि पत्ता लागेको छ । गाडीबाट झरेर पत्नीलाई बोकेर सुनकोशीतर्फ जाँदै गरेका पनि उनै वृद्ध हुन् ।

‘के कारणले फाल हाल्नुभयो र बेपत्ता हुनुभयो, खुलीसकेको छैन । हिजो साँझदेखि हामी खोजीमा जुटेका छौं । अहिले तेमालबेसीसम्म आइपुगिसकेका छौं । भेटिएको छैन,’ उनले भने ।

वृद्ध दम्पती काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका हुन् ।

घटनापछि प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको प्रहरी टोलीले सुनकोशी नदी आसपास खोजी अभियान सञ्चालन तीव्र गरेको थियो । अहिले सशस्त्रसमेत मिसिएर र्‍याफ्टिङ बोटसहित खोजी गरिरहेको छ ।
साभार: सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

३

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

४

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

५

क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए

६


TOP