भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ।



अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्यमा उतारचढाव भइरहेको छ। भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाललाई मूल्य समायोजन नगर्ने निर्णय गरेको हो। यो निर्णय भदौ ३१ गतेदेखि लागू भएको छ।
मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।
नयाँ निर्णयअनुसार काठमाडौँ, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँमै कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।






