बुधबार , मंग्सिर ३, २०८३
अछामका जलविद्युत आयोजना र कर्णाली नदी कटान नियन्त्रणबारे सांसद ज्वाला संग्रौलाले गरिन ऊर्जा मन्त्रीको ध्यानाकर्षण – Yuwa Daily

काठमाडौँ, मङ्सिर ३ । माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष अछाम जिल्लाका महत्त्वपूर्ण जलविद्युत आयोजनाहरूको शीघ्र कार्यान्वयन तथा कर्णाली नदी कटान नियन्त्रणको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको छ।
​अछाम जिल्लाका संघीय सांसद ज्वाला संग्रौलाको विशेष पहलमा सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको टोलीले आज मन्त्री श्रेष्ठलाई भेटेर जिल्लाको विकास र स्थानीयको जनजीविकासँग जोडिएका गम्भीर विषयमा ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्र बुझाउनुअघि सांसद संग्रौलाले जिल्लाका विभिन्न प्रभावित तथा आयोजना क्षेत्रहरूको स्थलगत भ्रमण गरी वास्तविक अवस्थासहितको प्रतिवेदन (रिपोर्ट) तयार पार्नुभएको थियो। सोही स्थलगत अध्ययन प्रतिवेदनका आधारमा मन्त्री श्रेष्ठलाई समस्याबारे विस्तृत जानकारी गराइएको हो।
​ध्यानाकर्षण पत्रमार्फत लामो समयदेखि निर्माणको पर्खाइमा रहेको बुढीगंगा जलविद्युत आयोजनाको कामलाई तत्काल तीव्रता दिन माग गरिएको छ। त्यसैगरी, सुदूरपश्चिमकै समृद्धिको आधार मानिएका बेतन कर्णाली र अपर कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रियामा देखिएका नीतिगत तथा प्राविधिक अवरोधहरू हटाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको छ।
​भेटका क्रममा सांसद संग्रौलाले स्थलगत भ्रमणका क्रममा देखिएको अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्रमा कर्णाली नदीले पुर्‍याएको भयावह क्षतिका बारेमा समेत मन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो। नदीको निरन्तरको कटानका कारण उक्त नगरपालिकाको करिब १५० बिघा खेतीयोग्य जमिन कटान भइसकेको र आसपासका बस्तीसमेत उच्च जोखिममा परेको भन्दै तत्काल दिगो तटबन्ध निर्माण तथा नदी नियन्त्रणका लागि विशेष बजेट विनियोजन गर्न माग गरिएको छ।
​ध्यानाकर्षण पत्र र स्थलगत प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले अछामका जलविद्युत आयोजनाहरू सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले कर्णाली नदी कटान नियन्त्रण तथा तटबन्ध निर्माणका लागि मन्त्रालयले तत्काल आवश्यक पहल र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सांसद संग्रौलाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

१

एलिनालाई बाँच्न देऊ : डिर्भोस भएकै कारण एलिनाले प्राणको भिख माग्नुपर्ने हो ?

२

अछामका नौ स्थानीय तहमा सांसद टीका सङ्ग्रौलाद्वारा विकास योजनाको अनुगमन र जनगुनासो सङ्कलन

३

नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता

४

‘हामी आउँदैछौँ’ अभियान लिएर रास्वपा काभ्रे भोलिबाट गाउँ–नगरमा

५

सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल

६


TOP