
अभिनन्दन एवं स्वागत-बिदाइ समारोह २०८१ सुसम्पन्न
राजधानीको सिनामंगल स्थित ब्रिजवाटर एजुकेशन फाउण्डेशनले राष्ट्रिय नाचघरमा एक भव्य अभिनन्दन समारोह आयोजना गरेको थियो । कार्यक्रममा नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याउने तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई सम्मान र सो अवसरको मुख्य अतिथि माननीय स्वास्थ्य एवं जनसंख्या मन्त्री प्रदिप पौडेल हुनुहुन्थ्यो, जसले ब्रिजवाटर एजुकेशन फाउण्डेशनको अभिनन्दन परम्पराको प्रशंसा गर्दै यसको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
अभिनन्दित व्यक्तित्वहरूमा शिक्षातर्फ शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले, पत्रकारिता तर्फ वरिष्ठ टेलिभिजन पत्रकार श्री दिलभुषण पाठक, र बैकिङ एवं वित्त क्षेत्रका प्रमुख कार्यकारी अधिकृत सिए देवेन्द्र रमण खनाल रहेका थिए।




समारोहको अध्यक्षता ब्रिजवाटर एजुकेशन फाउण्डेशनका अध्यक्ष सिए दीपक पाण्डेले गर्नुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो, “आजका अभिनन्दित व्यक्तित्वहरू हाम्रा लागि मार्गदर्शक र प्रेरणास्रोत हुनुहुन्छ, र वहाँहरूको जीवन र कार्यले हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहनेछ।”
अभिनन्दित व्यक्तित्वहरूले पनि धन्यवाद ज्ञापन गर्दै फाउण्डेशन परिवार र विद्यार्थीहरूको प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उहाँहरूले आफ्नो जीवनको अनुभव साझा गर्दै नयाँ पुस्तालाई शिक्षा र कर्मको क्षेत्रमा अगाडि बढ्न प्रेरित गरेका छन् ।
कार्यक्रममा कलेजका प्राचार्य कृष्ण पौडेल र सह-प्राचार्य विष्णु शर्माले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे। समारोहको सञ्चालन सोफिया महर्जन कार्कीले गर्नुभएको थियो।
यस कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी, पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।