
काठमाडौं, बैशाख २– नेपाली सांस्कृतिक र सामाजिक विविधतालाई उजागर गर्ने कथा सङ्ग्रह ‘हरेक पालिकाले सुनाउँछ आफ्नै कथा’ पुस्तक आज राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौँमा भव्य रूपमा लोकार्पण हुँदैछ। डा. महेश्वरी कुवरद्वारा लिखित यस पुस्तकको विमोचन नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय डा. आर्जु राणा देउवाको प्रमुख आतिथ्यमा आयोजना गरिएको हो।
पुस्तकमा देशभरिका गाउँपालिका, नगरपालिका र महानगरहरूका स्थानीय तहका कथाहरू समेटिएका छन् जसले नेपाली जनजीवनका विभिन्न पाटो—भोगाइ, संघर्ष, सांस्कृतिक पहिचान र सामाजिक न्यायलाई कथा शैलीमा उजागर गरेका छन्। लेखक कुवरले स्थानीय विकास, महिला सशक्तीकरण र समावेशी भावनाहरूलाई पंक्तिहरूमा पिरोइर नेपाली समाजको विभिन्न आयामलाई समेटेका छन्।




कार्यक्रमका दौरान डा. महेश्वरी कुवरलाई विशेष पर्यटन क्षेत्रमा योगदान पुर्याएका साथै अन्य उल्लेखनीय व्यक्तिहरूलाई सम्मान प्रदान गर्ने पनि भनाइ छ। आयोजनामा साहित्यिक वृत्त र सामाजिक रूपान्तरणमा विश्वास राख्ने विभिन्न संघसंस्थाहरूले हातेमालो गरेका छन् जसले नेपाली साहित्यमा नयाँ दस्तावेजीकरण अभ्यासको सुरुवात गर्ने संकेत दिएका छन्।
‘हरेक पालिकाले सुनाउँछ आफ्नै कथा’ पुस्तक नेपाली समाजको विविधता र यथार्थको प्रतिबिम्ब बनेर पाठक र साहित्यिक समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।