
श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, सिफलले आफ्नो गौरवशाली इतिहासमा पहिलो पटक ऐतिहासिक सफलता हासिल गर्दै २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा १०० प्रतिशत विद्यार्थीलाई उत्कृष्ट ग्रेडसहित सफल गराएको छ।




कुल ४१ जना परीक्षार्थीमध्ये २७ जना विद्यार्थीले जिपिए “A” र बाँकी १४ जनाले “B+” ल्याएर विद्यालयको शैक्षिक गुणस्तर र समर्पणको सशक्त प्रमाण प्रस्तुत गरेका छन्।
विद्यालयको प्रारम्भिक दिनहरू संघर्षपूर्ण भए पनि, शिक्षा क्षेत्रमा समर्पित भावनासहित विद्यालयले निरन्तरता दिँदै आएको थियो । विगतमा भौतिक संरचना, जनशक्ति, व्यवस्थापन, र शैक्षिक वातावरणमा विभिन्न चुनौतीहरू रहेका भए पनि, विद्यालयले कहिल्यै आफ्नो लक्ष्य गुमाएको थिएन।
पछिल्ला केही वर्षमा विद्यालयको नेतृत्वमा आएको परिवर्तनले विद्यालयको दिशा नै फेरिएको छ। प्रधानाध्यापक श्री राम प्रसाद ढुङ्गाना को आगमनसँगै विद्यालयमा शैक्षिक सुधारको लहर शुरु भयो। उहाँको प्रभावकारी नेतृत्व, शिक्षकहरूको लगनशीलता, र अभिभावकहरूको सक्रिय सहभागिताले विद्यालयमा गुणस्तरीय शिक्षाको आधार निर्माण गर्यो।
यस बारे प्रधानाध्यापक श्री ढुङ्गानाले विद्यालयको तर्फबाट सम्पूर्ण विद्यालय परिवारमा हार्दिक बधाई दिँदै भनेका छन् :-
“श्री बाल व्यवसायी केन्द्र मा.वि.को इतिहासमै पहिलो पटक सम्पूर्ण विद्यार्थी उत्कृष्ट ग्रेडसहित सफल हुनु भएकोमा सम्पूर्ण शिक्षक/कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, काठमाडौं महानगरपालिका र शुभचिन्तक महानुभावहरूलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु।
व्यवसायी केन्द्र मा.वि.को यो सफलता केवल परीक्षाफल होइन, यो हाम्रो सामूहिक प्रतिबद्धता, परिश्रम र शिक्षामा विश्वासको परिणाम हो। यसले भविष्यमा अझ उत्कृष्ट कार्य गर्न हौसला दिन्छ।” उनले भनेका छन् । यस्मा थप्दै विद्यालयले आगामी दिनहरूमा विद्यार्थीको व्यक्तिगत क्षमता विकास, सृजनात्मक शिक्षण विधि, र प्रविधिको प्रयोगमा विशेष जोड दिँदै समाजमा उदाहरणीय विद्यालय बनाउने लक्ष्य राखेको छ।
यस अभूतपूर्व सफलताले विद्यालयको प्रतिष्ठा अझ उच्च बनाएको छ। श्री बाल व्यवसायी केन्द्र मा.वि. अब गुणस्तरीय शिक्षाको एउटा उत्कृष्ट नमुना बनेको छ। विद्यालय परिवारले सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, शुभचिन्तकहरूलाई आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट कामको वाचा पनि गरेका छन् ।