
दाइजोको निहुँमा जनकपुरधाम ९ थापा चोककी आरती साहको हत्या भएको भनिएको प्रकरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारी र पोस्टमार्टम गर्ने चिकित्सकहरुले लापरवाही गरेको राष्ट्रिय मानवाधिकार आयोगले जानकारी दिएको छ ।
आयोगले आरतीको प्रकरणमा १० बुँदे निर्णय तथा सिफारिस कार्यान्वयनका लागि आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले भनेको छ ।




प्रहरीले आरतीको मृत्युलाई प्रि(अकोपाइड माइण्डुबाट आत्महत्या देखाएको व्यवहारले घटनामा स्वतन्त्र, निष्पक्ष र स्वच्छ तरिकाबाट अनुसन्धान गरेको हो भनी शंकारहित तवरबाट निष्कर्षमा पुग्न सकिएन( आयोगको प्रतिवेदनको निष्कर्ष छ ।
प्रहरीले मृतक आरतीको शरिरमा देखिएको घाउ चोट जस्ता देखिने दागहरुबारे घटनास्थल र वस्तु स्थिति मुचुल्कामा लुकाएको आयोगको ठहर गरेकोछ । आयोगको प्रतिवेदन अनुसार प्रहरीको मुचुल्का र पोस्टमार्टम रिपोर्ट फरक फरक आएको छ।
मृतक आरती दुई महिनाको गर्भवती थिइन् । स्पष्ट रुपमा भवितव्य वा कर्तव्यबाट भएको छुट्याउन नसकिने यौनहिंसा परीक्षण, घाउजांच परीक्षण, लगायतका जटिलता देखिएमा पोस्टमार्टम लगायतका कार्यहरू फरेन्सिक विज्ञ मार्फत् हुनुपर्छ । तर आरतीको शव पोस्टमार्टममा प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकहरु डा. अवधेशकान्त झा, डा.दिग्विजय ठाकुर र डा. दिपेन्द्र कुमार सिंहले लापरबाही गरेको पनि आयोगले ठहर गरेको छ ।
आरतीको पोस्टमार्टममा त्रुटी भएको नेपाल मेडिकल कान्सिलबाट भएको छानविनले देखिएको र संलग्न चिकित्सकहरुलाई सचेत गराउँदै अन्तिम चेतावनी दिएको आरोगले उल्लेख गरेको छ ।
आरतीको मृत्युवारे उनका आमा र बहिनीसंग लिएको वयानमा पनि प्रहरीले लापरवाही गरेको खुलेको छ । वयान लिने बेलामा माइती पक्षबाट भिडिओ बनाएको थियो, जुन आचारसंहिता विपरित छ । सोही विषयमा कुटाकुट भएको थियो ।
सोबारे आयोगले भनेको छ, वयान लिनेक्रममा दुई पक्षबीच विवाद उत्पन्न भइ पीडित र प्रहरी दुबैबीच जिल्ला प्रहरी कार्यालयमै लछार पछार र कुटाकुटको अबस्था सृजना भएको देखियो । जसलाई नागरिकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको व्यवस्थापन पक्षको कमजोरीको रुपमा देखिन आयो।
दुबै पक्षबीच भएको झडपबाट मृतक आरतीको बुवा बिनोद, आमा निर्मलादेवी, भाई धिरज, बहिनी मनिषा र मामा सन्तोष तथा प्रहरीतर्फ प्रहरी निरीक्षक नवाज खड्का, प्रहरी जवान गोमा कुमारी थापा, सुस्मिता राई र हनुमान रायसहित पीडित भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
घटनालाई छानविन तथा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय धनुषा मार्फत् जिल्ला अदालतमा कर्तव्य ज्यान शिर्षकमा दर्ता मुद्दा विचराधिन छ । साथै वयानका क्रममा भएको घटनालाई लिएर पीडित मनिषाले दर्ता गराएको मुद्दा पनि विचराधिन रहेको छ । दुबै मुद्दा विचराधिन रहेकाले त्यसबारे केहि बोली रहनु परेन (आयोगले भनेको छ ।
प्रहरी अधिकारीबाट भएको कमजोरी सचेत गराउन र पोस्टमार्टम गरेका चिकित्सकहरूको हकमा कारवाही सम्बन्धमा नेपाल मेडिकल काउन्सीलले सचेत गराउँदै अन्तिम चेतावनीको लागि निर्देशन दिइसकेको देखिएकोले आगामी दिनमा लापरबाहीजन्य कार्य नगर्न र सही दस्तावेजीकरण गर्न, गराउन निर्देशन दिन सम्बन्धित निकायलाई परिपत्र गरी पठाउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको छ ।
बयान लिनेक्रममा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व प्रहरीको हो । तर प्रहरीले पीडितहरूको हकमा सोको व्यवस्थापन गर्न नसकेको, व्यवस्थापन हुन सकेकै कारण पीडितहरूमाथि पनि कुटपिट भएको ठहर गर्दै आयोगले पीडितहरुलाई क्षतिपूर्ति दिन भनिएको छ । स्वच्छ न्याय पाउने अधिकारको उल्लंघन भएको देखिदा पीडित परिवारले व्यहोर्नु परेको पीडा तथा आर्थिक क्षति समेतलाई ख्याल गरी क्षतिपूर्ति दिन सकिने भनी सर्वोच्च अदालतबाट भएको आदेश समेतलाई विचार गरी मृतककी बहिनी मनिषालाई १ लाख ५० हजार, आमा निर्मला देवीलाई १ लाख तथा विनोद, धिरज र सन्तोषलाई जनही ५० हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई भनेको छ ।
आरतीको माइत पक्षले वयान लिने क्रममा कुटपिट गरेको र मुद्दा कमजोर बनाउन भूमिका खेलेको आरोप लगाउदै धनुषाका तत्कालिन एसपी विश्वराज खड्कासहितका प्रहरी अधिकारीको फोटोमाथि थुक्ने र लात्तिले हान्ने जस्ता कार्य गरेको थियो । सो विषयमा आयोगले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने भन्दै घृणाजन्य अभिव्यक्ति नदिन मृतकको माइत पक्षलाई सचेत गराएको छ ।
०८० जेठ ७ मा मृत अबस्थामा आरतीको श्रीमान र परिवारका सदस्यले अस्पताल पुर्याएको थियो । उनीहरु आरतीले आत्महत्या गरेको दावी गरे पनि माइत पक्ष हत्या गरेको आरोप लगाएको छ । आरतीका बुवा, आमा, बहिनी र भाई अझै काठमाडौंमा अनसन जारी राखेका छन् ।
आरतीका श्रीमान मोतीबाबु साह अहिले थुनामा छन् । प्रहरीले सुरुमा पक्राउ गर्दा उच्च अदालतको आदेशबाट रिहा भएका उनी सर्वोच्च अदालतको आदेशपछि पौष ९ मा पुनः पक्राउ परेका हुन् ।