
कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेभएको छ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ ।




प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो ।
मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड रहेको थियो ।