काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४२ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५६, नियमविपरीत राइड सेयरिङ गर्ने १२१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ८७ तथा तीव्र गतिमा सवारी चलाउने १७३ चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा पार्किङ गर्ने ८५, एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार २४९ चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।









