काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको पहिलो १०० दिनलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै सुधारका प्रयासलाई केही समय दिनुपर्ने बताएका छन्।
उनले सरकारको मूल्याङ्कन व्यक्तिको दृष्टिकोणअनुसार फरक हुन सक्ने उल्लेख गर्दै परम्परागत राजनीतिक सोचबाट हेर्दा उपलब्धि कम देखिए पनि नयाँ पुस्ताको नेतृत्व, शासकीय शैलीमा परिवर्तन र नयाँ अभ्यासको सुरुआतका हिसाबले सरकार सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।

भट्टराईले पुरानो शासनशैलीलाई परिवर्तन गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई तत्काल निष्कर्षमा नपुर्याई काम गर्ने अवसर दिनुपर्ने धारणा राखेका छन्। देशको जटिल भूराजनीति, कमजोर अर्थतन्त्र र तीव्र सामाजिक–आर्थिक रूपान्तरणका चुनौतीलाई ध्यानमा राख्दै सरकारका पहिलो १०० दिनलाई सिकाइको चरणका रूपमा लिनुपर्ने उनको भनाइ छ।
उनले सुशासन, समतामूलक समृद्धि र वैकल्पिक राजनीतिको आधार निर्माणतर्फ सरकार अझ गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।









