काठमाडौं । सरकारले आफ्नो १०० दिने अवधिमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अनुसन्धान, आविष्कार, स्टार्टअप प्रवर्द्धन र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गठन गरिएको मन्त्रालयले अब यस क्षेत्रको नीति, कानुन र कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने भएको छ।
मन्त्री महावीर पुनले मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुन निर्माण, सङ्गठन व्यवस्थापन तथा विज्ञान र नवप्रवर्तनसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि ४ अर्ब रुपैयाँ तथा ‘नेपाल इन्टरप्राइज फसिलिटी’का लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै स्टार्टअप, युवा उद्यमी र अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ।

नयाँ मन्त्रालयले वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान, पारमाणविक प्रविधि, नवप्रवर्तन, औद्योगिक आधुनिकीकरण तथा विज्ञानसँग सम्बन्धित राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यलाई समन्वय गर्ने जिम्मेवारी पाएको छ। सरकारले यस पहलमार्फत अनुसन्धानमा लगानी बढाउँदै दक्ष जनशक्तिको पलायन रोक्ने र ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ।









