काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यले १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण गरी व्यवस्थापन सुरु गरेको छ।
महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार वडा नं। १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा यो प्रणाली लागू गरिएको हो। स्रोतमै वर्गीकरण सुरु भएपछि बञ्चरेडाँडामा दैनिक २० ट्रकसम्म पठाइने फोहर घटेर १५ ट्रकमा सीमित भएको छ।

महानगरका सात क्षेत्रबाट वर्गीकृत फोहर व्यवस्थापन सुरु भएपछि दैनिक करिब ३।१९ मेट्रिक टन फोहर कम भएको विभागले जनाएको छ।
महानगरले फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि–२०८१ कार्यान्वयनमा ल्याउँदै पुनःप्रयोग, पुनर्चक्रण र वैज्ञानिक व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ। यसबाट सहरको फोहर व्यवस्थापन प्रभावकारी बनाउनुका साथै बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु पनि लम्ब्याउने अपेक्षा गरिएको छ।









