सुर्खेत । दैलेखको कर्णाली नदीमा दुर्घटनापछि बेपत्ता भएको फोर्स गाडी र त्यसमा सवार यात्रुको अवस्था २६ घण्टा बितिसक्दा पनि अज्ञात रहेको छ। नदीको धमिलो पानी र वर्षाका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सशस्त्र प्रहरी बलका तालिमप्राप्त गोताखोरसहितको टोली घटनास्थलमा परिचालित भए पनि हालसम्म गाडी वा बेपत्ता यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानमा गाडीमा ५ देखि ६ जना यात्रु सवार रहेको अनुमान गरिएको भए पनि यात्रुको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन।
खोजीका क्रममा गाडी नदीमा डुबेको अवस्थामा देखिएको थियो भने एक पुरुषको शव फेला परेको थियो। उनको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको प्रहरीले जनाएको छ।
बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क।प्र।०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गनेरा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो।
कर्णाली प्रदेश सरकारले उद्धार कार्य प्रभावकारी बनाउन गृह मन्त्रालयसँग थप समन्वयको आग्रह गरेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ।









